चैत्र ६, काठमाडौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानको राजीनामा माग गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विद्यार्थी नेता दीपेश पुनसहित १८ जनाविरुद्ध गत माघ २२ गते पोखराको सूर्यदर्शन सहकारीका पीडितले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता भएको र यसको निष्पक्ष छानबिन गरिनुपर्ने माग कांग्रेस नेता दीपक गिरीले संसदमा राखे।
यस मुद्दामा निष्पक्ष छानबिनमा बाधा पुग्ने देखिएकाले नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग गरेको गिरीले उल्लेख गरे । विद्यमान सहकारी ऐनले सहकारी संस्थाका सदस्यलाई मात्र कर्जा प्रवाह गर्नसक्ने व्यवस्था रहेपनि गैरसदस्यलाई समेत ऋण दिइएको विषय गैरकानूनी रहेको उनले दाबी गरे।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद गिरीले मिटरब्याजपीडित, सहकारीपीडितलगायतले न्याय पाउनुपर्छ भनेर सदनभित्र र बाहिरसमेत कुरा उठाइरहेको भएपनि त्यसको अझै सुनुवाइ हुन नसकेको बताए। विभिन्न सहकारी संस्थामा भएको ठगीको विषयलाई गम्भीरताका छानबिन गर्न कांग्रेसले माग गरेको छ । स्वार्थको द्वन्द्व हुनेगरी सरकारले मन्त्री नियुक्त गरेको आरोप पनि उनले लगाए।