भदौ १२, काठमाडौ – बैतडीको पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा स्थानीयलाई समस्या भएको छ । गएको डेढ वर्षदेखि विमानस्थल बन्द हुँदा उनीहरू हवाई सेवा उपभोगबाट वञ्चित हुँदै आएका हुन् ।
प्रत्येक बिहीबार धनगढी–पाटन–धनगढी उडान गर्दै आएको समिट एयरले विसं २०७८ चैत १० गते अन्तिम उडान भरेको थियो । त्यसयता पाटन विमानस्थलबाट कुनै उडान हुन सकेको छैन । यात्रु अभावका कारण उडान भर्न नसकिने उक्त एयरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले बताए। उनले भने, “यात्रु अभावकै कारण यहाँको हवाई सेवा बन्द भएको हो । भाडा महँगो भएकै कारण यात्रुहरु पाउन मुस्किल छ । भाडा नघट्दासम्म उडान हुने सम्भावना कम छ ।”
पाटन–धनगढी १७ मिनेटको हवाई दूरीका लागि सुरुमा रु तीन हजार सात सयमा हवाई उडान हुने गरेको थियो । पछिल्लो समय भने बढेर रु पाँच हजार पुगेको थियो ।
हवाई सेवाका कारण यहाँको आन्तरिक धार्मिक पर्यटन प्रवद्र्धन र व्यापार–व्यवसाय फस्टाउने अपेक्षा गरिए पनि सञ्चालनमा आएको एक वर्षमै विमानस्थल बन्द हुँदा हवाई सेवाबाट समेत वञ्चित हुनु परेको स्थानीयवासी दिनेश जोशीले बताए ।
“हवाई उडान बन्द हुँदा बैतडीबाट आकस्मिक रूपमा प्रदेश राजधानी धनगढी जाने यात्रु र बिरामीलाई समस्यामा हुने गरेको छ”, उनले भने, “नियमित उडानले आर्थिक विकासको अपेक्षा रहे पनि डेढ वर्षदेखि विमानस्थलमा जहाज आएको छैन । नियमित हवाई सेवा सञ्चालनका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।”