साउन ३२, गरोखा – गोरखा ( उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, खानीगाउँ पहिरोको जोखिममा परेको छ । पहिरोका कारण बस्ती भएको जमिन चिराचिरा परेको छ । यहाँ ३२ घर पहिरोको उच्च जोखिममा परेका छन् ।
गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङका अनुसार बस्ती माथिको जमिन चिराचिरा परेको छ । जमिन खाल्डो पर्दै गएपछि बस्ती जोखिममा परेको उनको भनाई छ । विसं २०७२ साल वैशाखमा गएको भूकम्पले खानीगाउँको जमिनमा चिरा पर्न थालेको होु, उपाध्यक्ष गुरुङले भने, केही दिनअघि परेको वर्षाले झन् जोखिमपूर्ण बनेको छ ।
वर्षाले जमिन भासिँदै गएपछि प्रायजसो घरको भित्रि भागमा चिरा परेको छ । घरको जगसमेत तलतल सर्दै गएको छ । घरभित्र एक बित्तासम्म चिरा परेपछि स्थानीय बास बस्नै डराउने गरेको उनले बताए ।
पहिरोको जोखिम बढेपछि बास बस्न खतरा छ, घरभित्र पसे अत्यास लाग्ने अवस्था छु, उपाध्यक्ष गुरुङले भने, राति बास बस्न छिमेकीको घरमा जानुपर्ने बाध्यता छ । पहिरोको त्रासले स्थानीयवासी बेलुकीपख छिटोछिटो घरमा खाना खाएर ओड्ने ओछ्याउने बोकेर आफन्तकहाँ बास बस्न जाने गरेका उनले बताए ।
केही परिवार विद्यालयमा बास बस्न थालेका छन् । बस्ती खाली गरेर अन्यत्र सर्न गाउँपालिकाले स्थानीयवासीलाई आग्रह गरेको छ । पहिरोले खानीगाउँका ३२ परिवारका एक सय पाँच जना प्रभावित भएका छन् ।