साउन ९, काठमाडौं – नासिर याह्या हुसेनले जापानको फुकुओकामाजारी २० औं संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा अर्को नया कीर्तिमान कायम गरेका छन् ।
हुसेनले आफ्नो नाममा अर्को नयाँ राष्ट्रिय कीर्तिमान कोरेको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए ।
सोमबार भएको २०० मिटर फ्रिस्टाइलमा नासिरले १ मिनट ५७.२६ सेकेन्ड समयका साथ आफ्नो नाममा थप नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । यस अघि नासिरको नाममा १ मिनट ५८.२३ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो । नासिरले उक्त कीर्तिमान ११ औं एनएसएकप च्याम्पियनसिपमा राखेका थिए । नासिरले आइतबार भएको ४०० मिटर फ्रिस्टाइलमा पनि ४ मिनट ८.२३ सेकेन्ड समयको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका थिए ।
यसै गरी महिलातर्फको खेलमा दक्षिण एशियाली खेलकुदकी ४ स्वर्ण पदकधारी गौरिका सिहंले पनि नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन् । उनले १०० मिटर ब्याक स्ट्रोकमा १ मिनट ६.८० सेकेन्ड समयमा दुरी पूरा गरिन् । अध्यक्ष बज्राचार्यका अनुसार गौरिकाको यस अघिको समय १ मिनट ७.३१ सेकेन्ड समयको कीर्तिमान तोड्न सफल भइन् । उनले उक्त कीर्तिमान गोहाटीमा आयोजना भएको १२ औं दक्षिण एशियाली खेलकुदमा कायम गरेकी थिईन् ।
भोलि मंगलबार डुवाना लामाले २०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्ने टोली ब्यवस्थापक नरेश बैद्यले जानकारी गराएका छन् । बिश्व पौडी महासंघले आफ्नो नामफिनालाई परिवर्तन गर्दै वल्र्ड एक्वाटिक्सको नामाकरण गरे पछि आयोजना भएको यो पहिलो विश्व च्याम्पियनशीप हो ।