इटालीलाई हराउँदै उरुग्वेले पहिलो पटक जित्यो यू–२० विश्व कप

जेठ २९, काठमाडौं  – उरुग्वेले फिफा यू–२० (२० वर्षमुनि) को विश्व कप फुटबलको उपाधि जितेको छ । अर्जेन्टिनामा हिजो आइतवार राति भएको फाइनलमा उरुग्वेले इटालीलाई १ ० गोलले हराउँदै उपाधि जितेको हो । उरुग्वेको जितमा खेलको ८६ औँ मिनेटमा लुसिआनो रोड्रिगेजले गोल गरे ।

तीन पटक फाइनलमा पुगेको उरुग्वेले पहिलो पटक २० वर्षमुनिको विश्व कप जितेको हो । यसअघि उरुग्वे सन् १९९७ र २०१३ मा उपविजेता बनेको थियो ।त्यस्तै पहिलो पटक २० वर्षमुनिको विश्व कप फाइनलमा पुगेको इटाली भने उपविजेता बन्यो ।

२० वर्षमुनिको विश्व कप उपाधि अर्जेन्टिनाले सबैभन्दा धेरै छ पटक जितेको छ । यस्तै ब्राजिलले ५ पटक यो उपाधि जितेको छ ।