बैशाख १२, एजेन्सी – ईन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले दोस्रो जित निकालेको छ। घरेलु मैदान राजिब गान्धी क्रिकेट स्टेडियममा भएको खेलमा दिल्लीले सनराईजर्स हैदराबादलाई ७ रनले पराजित गरेको हो।
दिल्लीले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन मात्र बनायो। हैदराबादका लागि मंयक अग्रवालले ३९ बलमा ७ चौकाको सहयोगमा सर्वाधिक ४९ रन बनाए।
हेनरिक केल्सनले १९ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाए। वासिंटन सुन्दरले १५ बलमा ३ चौका सहित अविजित २४ रन बनाउॅंदा राहुल त्रिपाटीले १५ रन बनाए ।
सुन्दर र केल्सनले छैटौं विकेटका लागि २८ बलमा ४१ रनको साझेदारी गरे। दिल्लीका लागि एनरिच नोर्किया र अक्षर पटेलले समान २र२ तथा ईशान्त शर्मा र कुलदिप यादवले समान १र१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो ।
दिल्लीका लागि मनिष पान्डेले २७ बलमा २ चौकाको सहयोगमा ३४ रन बनाए । अक्षर पटेलले ३४ बलमा ४ चौकाको सहयोगमा ३४ रन बनाए । दिल्लीले पहिलो ओभरमा नै ओपनर फिलिप साल्टलाई गुमाएको थियो । दोस्रो विकेटका लागि कप्तान डेबिड वार्नर र मिचेल मार्शले ३८ रनको साझेदारी गरी दिल्लीलाई खेलमा फर्काउने कोसिस गरेका थिए ।
कप्तान वार्नरले २० बलमा २ चौका र १ छक्काको सहयोगमा २१ रन बनाए । मार्शले १५ बलमा ५ चौकाको सहयोगमा २५ रन बनाए । आठौँ ओभरमा वासिटंन सुन्दरले ३ विकेट लिएसँगै हैदराबादले खेलमा पुनरागमन गरेको थियो । ६२ रन मा हुँदा ५ विकेट गुमाएको दिल्लीका लागि छैटौँ खेलका लागि अक्षर पटेल र मनिष पान्डेले ५९ बलमा ६९ रनको साझेदारी गरे ।
हैदराबादका लागि वासिंटन सुन्दरले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए । टि नटराजनले १ विकेट आफ्नो नाममा गरे । सातौँ खेलमा दोस्रो जित हात पारेको दिल्ली १० टोली सहभागी लिगको पुछारमा कायमै रहेको छ।