बैशाख ३, दाङ – तुलसीपुर उपमहानगरपालिका–१ का विकट बस्तीमा अझै पनि प्रभावकारीरूपमा सडक सञ्जाल पुग्न सकेको छैन । विकट क्षेत्रका रूपमा चिनिने वडा नं १ को बयाले, चुरेघाँटी, बाखखोर, रानी टाकुरा, अभिधारा, गहिरा सिउरेलगायतका क्षेत्रमा उपमहानगरपालिकाद्वारा उपलब्ध हुने सेवा सुविधा पाउन नसकेको स्थानीय चक्रपानी उपाध्यायले बताए। “हामी उपमहानगरपालिका भन्छौँ, तर राम्रो सडक छैन, धेरै ठाउँ विद्युत् पुगेको छैन”, उनले भने “तर हामीले उपमहानगरपालिकाको अनुभूति नै गर्न पाएको अवस्था छैन ।”
वडा नं १ मा मात्रै पाँच÷सातवटा त्यस्ता बस्ती रहेको उउनले बताए । त्यहाँ तत्काल विद्युत्, खानेपानी, सडक पु¥याउनुपर्ने अपरिहार्य रहेको तुलसीपुर–१ का अध्यक्ष हुमकान्त सापकोटाले बताए।
ती गाउँमा करिब दुई सय बढी घरपरिवार रहेका छन् । उपमहानगरपालिकाभित्रका यस्ता बस्तीलाई लक्षित गरी विकासको मोडेल तयार पार्ने उपप्रमुख स्यानी चौधरीले बताउए । “अझै पनि उपमहानगरपालिकाका विकट–विकट क्षेत्रले विकासको अनुभूति गर्न पाएको अवस्था छैन”, उनले भने , “ती बस्तीमा लक्षित गरी विकास पु¥याउन हामी पहल गर्छौँ ।”
सडक, खानेपानी, शिक्षा, स्वास्थ्यजस्ता कुरालाई बढी प्राथमिकता दिने उहाँको भनाइ छ । सडक सञ्जाल नहुँदा बजार आवतजावत गर्न पनि निकै कठिन हुने गरेको तुलसीपुर–१ बयाले निवासी चक्रपानी उपाध्यायले बताए । “बजार आउने–जाने काम परिरहन्छ”, उनले भने “सडक सञ्जाल गतिलो नहुँदा हिँडेरै बजार जानुपर्छ ।” ती गाउँमा सडकको ट्रयाक खोलिएको भए पनि गाडी जान सक्दैनन् । मर्मत तथा स्तरोन्नति हुनसकेको अवस्था छैन ।