चैत २६, काठमाडौं – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयहरूले किताब र पोसाक बेचेको गुनासो आएको बताएका छन्।
विद्यालयले किताब र पोसाक बेच्नु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ विपरीत भएको मेयर शाहले बताएका छन्।
आज फेसबुकमा लेख्दै उनले भने ‘विद्यालय आफैँले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक पटक आइरहेकाले विद्यालयको सो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको स्मरण गराइन्छ ।
साथै, सम्पुर्ण विद्यालयहरुलाई संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार कार्य गर्न गराउनहुन अनुरोध छ ।’ महानगरले किताब बेच्ने विद्यालयलाई कारबाही गर्नेसमेत चेतावनी दिएको छ।