ललितपुर सानेपाकी आँचल कुँवर ‘दराज अनलाइन सपिङ’ की प्रबन्ध निर्देशक हुन् । अन्तर्राष्ट्रिय कम्पनी ‘अमेजन’ मा साढे पाँच वर्ष काम गरेको अनुभव उनीसँग छ । प्रविधिमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उनी विदेशमा १८ वर्ष बसेर नेपाल फर्किएकी हुन् । आँचलसँग महिलाको नेतृत्व, पहुँच र चुनौतीको बिषयमा कुराकानी गरिएको छ ।
प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालिरहँदा कस्तो अनुभव भएको छ ?
रमाइलो अनुभव भएको छ र म एकदम उत्साहित छु । नेतृत्व मात्रै होइन धेरै कुरा परिवर्तन हुनुपर्छ भन्ने लागिरहेको छ र सोहीअनुसार काम गरिरहेकी छु ।
महिला भएको नाताले निर्णायक तहमा रहेर काम गर्दाका चुनौतीहरू के–कस्ता छन् ?
म प्रबन्ध निर्देशक बनेको धेरै भइसकेको छैन यस विषयमा बोल्न केहीसमय कुर्नुपर्ने हुन्छ । त्यसो त समस्या पहिचान गरी समाधानमा केन्द्रिकृत हुने मेरो बानी छ । केही समयअघि, मैले परिचय दिँदै गर्दा मेरो बोली नसक्दै एक चर्चित कम्पनीका सिइओले मलाई बीचैमा रोकिदिनुभयो । उहाँले मेरो पूरा कुरा सुन्नै चाहनुभएन । मेरो ठाउँमा कोही पुरुष भएको भए त्यसो गरिँदैनथ्यो जस्तो लाग्छ । हामीकहाँ यी र यस्ता चुनौती अझै पनि छन् । तर, म यस्ता कुरामा वास्तै गर्दिन ।
विदेशको तुलनामा नेपालमा काम गर्दा के फरक पाउनुभयो ?
समग्र अमेरिका र नेपालको कार्यशैलीको मैले तुलना गर्न मिल्दैन । ‘अमेजन’ र ‘दराज’ मा खासै फरक मलाई लागेन । आफ्नै माटोमा काम गर्दा म मेरो मातृभूमिका लागि केही गर्दैछु भन्ने महसुस हुन्छ ।
निर्णायक तहमा रहेर काम गर्दा तपाईंको मूल उद्देश्य के हुन्छ ?
मूल उद्देश्य भनेको संस्थागत उत्थान र प्रवर्द्धन नै हो । ‘अपलिफ्टििङ आवर कम्युनिटी थ्रु दि कमर्स’ भन्ने नाराका साथ नेपाललाई अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्ने स्थानमा पु¥याउनु छ ।
तपाईं आएपछि संस्थाले हासिल गरेको उपलब्धि के हो ?
म आउनेबित्तिकै कम्पनीमा उलटपुलट भयो भन्ने हुँदैन । तर, पनि ‘रि ब्रान्डिङ’ को काम भइरहेको छ । कम्पनीको लक्ष्य, उद्देश्य तथा कर्मचारीको काम र जीवनको सन्तुलनमा पनि ध्यान दिइरहेकी छु ।
कुन कुराले यहाँसम्म पुग्न सफल भएजस्तो लाग्छ ?
म आफूलाई भाग्यमानी ठान्छु । म त्यस्तो घरमा जन्मिएँ, त्यस्तो अभिभावक पाएँ जसले मलाई छोरी होइन मानव बनाएर हुर्काए, राम्रो शिक्षा दिए । यसले ममा आत्मविश्वास बढ्यो । मैले आफूमाथि कहिल्यै शंका गरिन । समस्या आए समाधान खोज्छु, सक्दिन भनेर तर्किन्न । सबैसँग घुलमिल हुने र सम्बन्ध बढाउने खुबी पनि छ । त्यसैले यहाँसम्म पुग्न सफल भएजस्तो लाग्छ ।
टिम म्यानेजमेन्टका लागि तपाईंको सूत्र के हो ?
जहिले पनि म आफू कामदार हुँदा कुन हाकिमसँग सन्तुष्ट र खुसी थिएँ भनेर विश्लेषण गर्छु । आफूलाई एउटा तल्लो स्तरको कामदारको स्थानमा राखेर सोच्ने गर्छु । हरेक कर्मचारीलाई राम्रो व्यवहार गर्छु । म आफ्नो संस्थाको लागि मात्र होइन सिंगो मुलुककै हितका लागि आफ्नो टिमका साथ अघि बढ्छु ।
संस्थागत रूपमा तपाईंले परिवर्तन गर्न चाहेका कुनै दुईवटा कुरा ?
मैले चार जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेकी छु । आफ्नो संस्थाभित्रका कर्मचारीको ‘वर्क लाइफ परिवर्तन’ गर्न मन छ । संस्थामा राम्रो र प्रभावकारी प्रस्तुतिका लागि उनीहरूलाई बिदाको जरुरत हुन्छ भन्ने कुरा कार्यान्वयन गर्ने मन छ ।
नेपाली महिला प्रमुख पदमा पुग्नका लागि के आवश्यकता देख्नुहुन्छ ?
महिला शिक्षा, आर्थिक आत्मनिर्भरता, सीप र क्षमता अभिवृद्धि गर्नुपर्छ । यसमा राज्यले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ ।
तपाईंका आगामी योजना र नयाँ वर्षका संकल्प के छन् ?
जुन उद्देश्यले म १८ वर्षपछि नेपाल फर्किएँ, त्यही पूरा गर्ने योजना मेरो प्राथमिकतामा पर्छ । व्यस्त भएको धेरै समय भयो । त्यसैले आगामी वर्ष परिवार, इष्टमित्र र साथीभाइलाई समय दिएर खुसीका साथ काम गर्ने इच्छा छ । नारि पत्रिकाबाट साभार गरिएको ।