समान काम तर असमान ज्याला

माघ २४, कैलाली  – कैलालीको जोशीपुर गाउँपालिकाकी मञ्जु चौधरी लगातार चार वर्षदेखि स्थानीय पालिकामा रोजगारीका लागि फारम भर्नुहुन्छ । तर काम कहिल्यै पाइनन । बेरोजगार भएकै कारण उहाँ जोशीपुरबाट साइकल चलाउँदै कामको खोजीमा टीकापुर पुग्छिन् । टीकापुर बजारमा घर निर्माण भइरहेका ठाउँमा इँटा बोक्ने, माटो, बालुवा, ढुङ्गा बोक्ने काम गर्नुहुन्छ तर दिनभरिको ज्याला साढे चार सयमात्र पाउनुहुन्छ । “चार वर्षदेखि घर निर्माणमा खटेका मिस्त्रीसँगै सबै काम गर्छु”, उनी भन्छिन्, “१२ किलोमिटर दैनिक साइकल चलाएर आउँछु, दिनभरि आठ घण्टा बढी काम गर्छु । बेलुका थकानसँगै रु चार सय ५० लिएर घर फर्कन्छु ।”

उहाँ काम नगरे पेट भर्न समस्या हुने, गरौँ भने निकै श्रम खर्चनुपरिरहेको बताउनुहुन्छ । “अहिले त जवान छु । सकेको गरेर पेट पालेको छु”, उनले भनीन्, “हाम्रो ज्याला बढाइदिएको भए पनि हुन्थ्यो । हामीलाई सजिलो काम स्थानीयस्तरमै पाए पनि हुन्थ्यो । यसरी कडा श्रम गरेर जीवन कति दिन चलाउन सकिएला रु”

घर निर्माण गर्ने ठाउँमै ज्यालादारी गर्ने कृष्णा चौधरी पनि मिस्त्रीको सहयोगीका रूपमा काम गर्नुहुन्छ । उनले कहिले आठ, कहिले नौ घण्टा बढी काम गर्नुपर्छ तर पाउने पारिश्रमिक त्यही रु चार सय ५० नै हो । दिनभरि माटो, ढुङ्गा र बालुवामा खेल्दा हात काटिने, चोटपटक लाग्ने डर हुन्छ । “बाध्यता छ, काम नगरी घर चल्दैन, काम गर्दा जोखिम बढी हुन्छ”, उनले भनिन् , “हिजो हात काटियो, इँटा खसेर खुट्टामा पनि चोट लागेको छ । हात फुट्ने, चोट लाग्नेजस्ता कुरा सामान्य भइसके ।”

उहाँहरूसँगै घर चिन्ने काम गर्ने पप्पु दासले भने दैनिक रु आठ सय ज्याला पाउछन् । उनी आठ वर्षदेखि यही काम गरिरहेकी छन् । उनी भने आफ्नो काम कडा हुने र ज्याला महिला र पुरुषको फरक–फरक रहेको बताउछिन् । “मैले घर चिन्ने काम गर्छु, मेरो काम कडा हुन्छ त्यसैले मेरो ज्याला अलि बढी हुन्छ”, उहाँ भन्नुहुन्छ, “महिलाहरू सहयोगीको काम गर्ने भएकाले उनीहरुले ज्याला कम हुन्छ ।”

महिला र पुरुष कामदारमा पनि विभेद छ । महिला कामदारले रु चार सय ५० देखि बढीमा रु छ सयसम्म ज्याला पाएका छन् । तर त्यही काम गर्दा पुरुष कामदारले भने रु पाँच सय ५० देखि रु एक हजार दुई सयसम्म पाउँछन् । “महिलालाई तीन खालको ज्याला दिइन्छ । सामान्य काम गर्नेलाई रु चार सय ५०, मसला बनाउन जानेकालाई रु पाँच सय र मिस्त्री काम जानेकालाई त्यसभन्दा बढी रु छ सयसम्म दिने गरेका छौँ”, डकर्मी व्यवसायी सङ¬्गठन टीकापुरका अध्यक्ष देवदास मुन्सीले भने “पुरुषको ज्याला रु पाँच सय ५० देखि एक हजार दुई सयसम्म छ । सामान्य काम गर्नेले रु पाँच सय ५० पाउँछन्, मिस्त्रीको भने रु सात सयदेखि एक हजार दुई सयसम्म छ ।” उहाँका अनुसार धेरै ज्याला पाउने मिस्त्रीले घरको नक्सा हेर्नसमेत जानेका हुन्छन् ।

सहरी क्षेत्र होस् या ग्रामीण क्षेत्रमा हरेक वर्ष नयाँ घर निर्माण हुन्छन् । नयाँ घर निर्माण हुँदा काम गर्ने डकर्मी तथा मजदुर खटाइने गरिन्छ । विगतमा कच्ची काठले घर बनाउने, टायल तथा खरले छाउने गरिन्थ्यो तर आजभोलि अधिकांशका घर पक्की बन्छन् । पक्की बनाउन नसक्नेले पनि घरको छाना जस्तापाता लगाउने गर्छन् । जस्तापाता लगाउन नसक्नेलाई जनता आवासमार्फत सरकारले बनाइदिनेसमेत गरेको छ । यसरी घर बनाउँदा मिस्त्री तथा मजदुर चाहिन्छन् । यसरी मजदुरी गर्नेमा महिला र पुरुषबीच ज्यालामा विभेद गर्न नहुने महिला अधिकारकर्मी निर्मला कडायतको माग छ । “एउटै काम गर्ने पुरुष रु पाँच सय ५० ज्याला पाउँछ, त्यही काम गर्ने महिलालाई रु चार सय ५० मात्र दिनु विभेद हो”, उनी भन्छिन् , “मिस्त्री काम जानेका महिलाले पनि ज्याला राम्रो पाउन सकेको देखिँदैन । यसमा स्थानीय सरकारले अनुगमन गर्न आवश्यक छ ।”

सरकारले बराबरी कामको बराबरी ज्याला दिन भने पनि कार्यान्वयनको अवस्था कमजोर छ । बाध्यता भएकाहरू कमै ज्याला दिए पनि काम गर्ने भएकाले यसरी बाध्यतामा काम गर्नेका विषयमा गम्भीर भएर सरकारले ज्यालामा भएको विभेद अन्त्य गर्न आवश्यक रहेको सरोकारवाला बताउँछन् ।