माघ ७, काठमाडौं –बाँकेमा कुष्ठरोगका नयाँ बिरामी फेला पर्नथालेपछि कुष्ठरोग निवारण अभियानमा चुनौती देखिएको छ । एक वर्षको अवधीमा एक सय ५७ जना नयाँ कुष्ठरोगीको पहिचान भएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा एक सय ५७ जना कुष्ठरोगीको पहिचान भएको जानकी गाउँपालिकास्थित साइनिङ अस्पतालका प्रमुख मङ्गल थारुले जानकारी दिए ।
उनका अनुसार, पहिचान भएकामध्ये ६१ जना बाँकेका छन् । अन्य बिरामी लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका छन् । नयाँ कुष्ठरोगीमा बालबालिका पनि रहेका उनले बताए । बाँके र बर्दियाका दुई/दुईजना र कैलालीका एक जना बालकमा कुष्ठरोग देखिएको छ ।
आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालले अस्पतालमा आएका बिरामीका साथै ठाउँ–ठाउँमा शिविर सञ्चालन गरेर कुष्ठरोगीको खोजपड्ताल गर्ने गरेको अस्पतालका प्रमुख थारुले बताए ।
गत आर्थिक वर्षमा बर्दिया र बाँकेका तीन ठाउँमा राखिएको शिविरमा पाँच हजार पाँच सय ८६ जनाको स्क्रिनिङ गर्दा ३० जना नयाँ रोगी फेला परेका थिए । साथै आव २०७८/७९ मा १५ हजार पाँच सय ८२ जना बिरामीले ओपिडी सेवा लिएको अस्पतालले जनाएको छ ।
नेपाल सरकारले सन् २०३० सम्ममा कुष्ठरोगमुक्त नेपाल घोषणा गर्ने लक्ष्य लिएपनि बाँकेमा कुष्ठरोगीका नयाँ बिरामी भेटिनुले लक्ष्य पूरा गर्न चुनौती देखिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बताइन् ।
“पाँच वर्षसम्म कुनैपनि बालबालिकामा कुष्ठरोग देखिएन भने निवारण भएको मानिन्छ । तर यसक्षेत्रमा कुष्ठरोग पहिचान भएकामध्ये ३ प्रतिशत बालबालिकामा कुष्ठरोग देखिएको छ, यसले अझै पनि कुष्ठरोग निर्मूल नभएको पुष्टि गर्छ,” उनले भनिन् ।
उनले कुष्ठरोग निवारणको लागि स्थानीय सरकारले पनि चासो दिनुपर्ने बताइन् । पछिल्लो समय बालबालिकामा पनि सङ्क्रमण देखिएकाले निवारण चुनौतीपूर्ण रहेको भेरी अस्पताल नेपालगञ्जका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा कृष्णप्रसाद आचार्यले बताए।