माघ ३, काठमाडौं –गोकर्णेश्वर नगरपालिकाको सहयोगमा अभिनव साहित्य समाजले प्रतियोगितात्मक महिला साहित्यिक जागरण अभिवृद्धि कार्यक्रमअन्तर्गत आत्मकथा तथा स्मरण लेखन सम्पन्न गराएको छ ।
कार्यक्रमअन्तर्गत महिलालाई आत्मकथा तथा स्मरण लेखन प्रतियोगिता गरिएको समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे वेदमणिले राससलाई जानकारी दिए। प्रतियोगितामा नगरपालिकाका ४० जना महिलाले भाग लिएका थिए ।
प्रतियोगितामा रञ्जना पोखरेल पहिलो, गीता बराल दोस्रो, सिर्जना पौडेल तेस्रो, ईश्वरी खकुरेल त्रिपाठी र सर्वानन्दा सरस्वतीले सान्त्वना पुरस्कार पाएका थिए। पहिलो हुनेलाई रु सात हजार, दोस्रो हुनेलाई पाँच हजार, तेस्रो हुनेलाई चार हजार र सान्त्वना हुनेलाई दुई–दुई हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
पुरस्कारसहित सम्मानपत्र प्रदान गर्नुहुँदै गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाले महिलालाई साहित्यिक क्षेत्रमा अघि बढाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । प्रत्येक महिनाको अन्तिम शनिबार समाजले जोरपाटी क्षेत्रमा साहित्यिक कार्यक्रम गर्दै आएको छ ।