पुस २८, काठमाडौं मानव तथा महिला अधिकारकर्मी हुन् डा. मीना पौडेल उनले सामाजिक रूपमा बहिस्कृत र राजनीतिक रूपमा सीमान्तकृत समुदायको क्षेत्रमा नेपाललगायत १२ मुलुकमा विभिन्न सामाजिक तथा गैरसरकारी संस्थामा काम गर्दै आइरहेकी छन् अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइएमओ) मा काम गर्दै उनले महिला बेचबिखनका क्षेत्रमा लागीरहेकी मीनासँग गरिएको कुाकानी
महिला बेचबिखनका क्षेत्रमा लाग्ने प्रेरणा कहाँबाट पाउनुभयो ?
सिन्धुपाल्चोकको घटनाले मलाई क्लिक ग¥यो । शिक्षण अस्पतालको जागिर छोडेर बेचबिखनमा परेका महिलालाई सहयोग गर्न गैरसरकारी संस्था खोलें । पित्तृसत्ता हावी भएपछि त्यो छोडेर अक्सफाममा गएँ । त्यहाँ १० वर्ष कन्ट्री डाइरेक्टर भएर काम गरें । आफू निर्णायक तहमा भएपछि सुरुदेखि मैले चाहेको महिला बेचबिखको अन्त्य, महिला अधिकारका कुरा अक्सफामबाट लागू गरें । संस्थाको सीमा र उद्देश्य भित्रै रहेर यो काम गरेकी हूँ । कसलाई उत्थान गर्नुपर्छ भनेर ती सब कुरा लागू गरें । जेलमा बस्दा पनि बेचिएकी महिलासँग राखिएको थियो । त्यसैले पनि म यसतर्फ आकर्षित भएँ । मानव बेचबिखन र महिला हिंसालाई एकेडेमिकल्ली हेर्न मन लागेकाले पीचडी गर्न ६१ सालतिर लण्डन गएँ । ‘बेचिएर फर्किएका महिलाको सामाजिक बहिस्कार’ मेरो पीएचडीको विषय थियो ।
बेचिएर फर्किएका महिलाका कस्ता समस्या पाउनुभयो ?
त्यस्ता महिलालाई सामाजिक बहिस्कार गरेको पाएँ । नागरिकताका कुरा पनि आए । भारतमा जान नागरिकता चाहिँदैन । महिला फर्केर आएपछि नागरिकता लिने उमेर, रोजगार खोज्न मन लाग्छ, पढ्न मन लाग्छ तर बुवाआमाले नागरिकता नदिने, सिफारिस नगरिदिने गरेको पाएँ । बेचिएर फर्केकी कुलको इज्जत फाली भनेर यसो गरेको पाएँ । बेचिएका महिलालाई सामाजिक बहिष्कार गर्नुको पछाडि सामाजिक, सांस्कृतिक कारण छन् । यस्ता महिला कसरी बाँच्छन्, कसरी जीवनयापन गर्छन् भनेर पोस्ट पीएचडी पनि गरें ।
नेपाली महिला र अन्य देशका महिलामा के–कस्ता भिन्नता पाउनुभयो ?
महिलाका कतिपय समस्या लगभग उस्तै–उस्तै छन्, निर्णय गर्ने प्रक्रिया, सम्पत्तिमाथि अधिकारका कुरा उस्तै छन् । उज्वेकिस्तान, ताजकिस्तान, तुर्किमिनिस्तानमा फरक पाएँ । त्यहाँ मुस्लिम देश भए पनि सोभियत युनियनको ७० वर्षसम्मको खाँका भित्र रहेकाले हाम्रो दक्षिण एसियाको जस्तो त्यहाँ छैन । त्यहाँ महिला स्वतन्त्र छन् । त्यहाँका बासिन्दाले हाम्रो इस्लाम मोर्डनाइज हो भन्छन् । महिला युरोपमा जस्तै हिँडडुल गर्न स्वतन्त्र छन् । हिजाब लगाउनुपर्दैन, सर्ट–पाइन्ट लगाएरै हिँड्छन् । घरभित्र र आर्थिक मामिलामा धेरै स्वतन्त्रता छन् । हाम्रो देशमा सामाजिक कुरीति बढी छ । अन्यमहिला भएकै कारण यौनिक हिंसा उस्तैउस्तै छन् । तर श्रममा विभेद, हिँडडुल गर्नमा विभेद, बाहिर सार्वजनिक ठाउँमा हाम्रो भन्दा स्वतन्त्रता छ ।
महिला आर्थिक रूपमा सबल कसरी हुने ?
आफैंले गर्न सक्छु भन्ने चेतना र आत्मविश्वास महिलामा हुनुपर्छ । असम्भव केही छैन तर सामान्य महिलाका लागि यो धेरै जटिल छ । सांस्कृतिक, सामाजिक आत्मनिर्भर भएर जोखिम लिन सक्ने स्थिति भयो भने यो सम्भव छ । जोखिम लिन सक्ने स्थिति बनाउन शिक्षा नीति फेर्नुपर्छ । साक्षर बनाउने भन्दा पनि चेतना दिने, ऊर्जा दिने शिक्षा नीति हुनुपर्छ । आलोचनात्मक चेत दिने, कन्फिडेन्ट बिल्ट अप गर्ने हुनुपर्छ । राजनीति फेरियो, राज्य संरचना फेरिएको छैन । फेरिनुपर्छ , यो फेरिन्छ, तर, तुरुन्तै फेरिने सम्भावना भने देखेकी छैन । महिला आर्थिक रुपमा सबल हुनैपर्छ । साभार नारी पत्रिका