वित्तीय सहकारीताको व्यवस्थापनका लागि स्थिरीकरण कोषको व्यवस्था

 

पुस २२, काठमाडौं –नेपाल सरकारले वित्तीय कारोवार गर्ने सहकारीहरुका लागि स्थिरीकरण कोषको प्राबधान प्रयोगमा ल्याएको छ । यसै सन्दर्भमा बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोषको पहिलो वार्षिक परामर्श बैठक सम्पन्न भएको छ । वैठकको उद्घाटन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा। दामोदर रेग्मीले गर्नुभएको थियो । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा आयोजित समारोहमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डित, प्रदेश सांसद ज्ञानबहादुर तामाङ, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष देवराज रोकाय स्थिरीकरण कोष सञ्चालन समितिका सदस्यहरु लगायत कोषमा योगदान गर्ने सदस्य संघ संस्थाका प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो ।

समारोहका प्रमुख अतिथि सचिव रेग्मीले बचत तथा ऋण सहकारी अभियानले प्राप्त गरेको उपलब्धीलाई उपयोग गरि समग्र सहकारीलाई देशको समन्यायिक आर्थिक विकासमा अग्रसर गराउनु पर्ने बताउनुभयो । उहाँले समस्या सबैतिर व्याप्त रहेको जानकारी गराउँदै सहकारी क्षेत्रले समस्याको उजागार गर्ने नभई सकारात्मक सन्देश प्रवाह गर्दै अभियान भित्रैबाट समाधानउन्मुख कार्यमा जुट्न र त्यसका लागि सहकारी मन्त्रालय र विभाग हरेक गतिविधिमा सहकार्य गर्न तयार रहेको बताउनुभयो । सचिव रेग्मीले सहकार्यको संस्कृति विकास गर्दै नीतिगत र कार्यगत विषयहरु अगाडि बढाउने दिशामा मन्त्रालय र विभाग केन्द्रीत रहेर लागिपरेको स्पष्ट पार्नुभयो ।

सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले केही अपवाद वाहेक नेफ्स्कूनको स्तरीकरण कार्यक्रममा जोडिएका सहकारीहरु सुशासनमा रहेको र यसको विस्तारलाई व्यापक बनाउँदै बाँकी साकोसहरुलाई पनि जोड्ने अभियानमा नेफ्स्कून लाग्न अनुरोध गर्नुभयो । स्तरीकरण प्रमाणीकरणको कार्यक्रमलाई प्रभावकारी रुपले अगाडि लैजान विभागले गहन अध्ययन गरिरहेको हुँदा केही समय लागेको समेत उहाँले स्पष्ट पार्नुभयो ।सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले बचत तथा ऋण सहकारी संस्थाहरु जोखिममा पर्न नदिन र कथम कदाचित जोखिममा परिहाले बचाउने कोषको रुपमा स्थिरीकरण कोष रहेको छ, यो वित्तीय संकट समाधानका लागि अत्यन्त महत्वपूर्ण कोष हो र यसमा साकोसको अनिवार्य आबद्धता रहनुपर्छ भन्ने कुरा बताउनु भयो।

कार्यक्रममा कोष सञ्चालन समितिकी सदस्य ज्ञानु पौड्यालले स्थिरीकरण कोष साकोसको सुरक्षा कवचको रुपमा रहेको र यसले जोखिम मुक्त, दिगो र भरपर्दो बचत तथा ऋण सहकारी अभियान निर्माणमा ठोग योगदान पुर्याउने विश्वास लिइएको बताउनुभयो ।स्थिरीकरण कोषका अध्यक्ष परितोष पौड्याले कोषको परिचय, नीति, कार्यक्रम र बजेट, आ।व।२०७८र०८९ को वित्तीय विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले योगदानकर्ताहरुको राय, सुझाव, सल्लाह र परामर्श कोषको प्रभावकारी सञ्चालनका लागि निश्कर्षका आधार बन्ने उल्लेख गर्नुभएको थियो ।

बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधिले योग्यता पुगेका सहकारी संस्थालाई तरलता सापटी दिने व्यवस्था गरेको छ । सो अनुरुप बार्षिक परामर्श वैठकका अवसरमा झापा, दमकको डाँफे बचत तथा ऋण सहकारी संस्था लि। र लतिपुरको श्री माई बज्रबाराही बचत तथा ऋण सहकारी संस्थाले क्रमशः ९० लाख र ३० लाख तरलता सापटी प्राप्त गरेका छन् । त्यसैगरी कोषमा हालसम्म जम्मा २ सय ७२ संघ संस्थाबाट  १२ करोड ७६ लाख योगदान पुगेको छ । गत जेठ २७ गते कोषको औपचारिक शुभारम्भ पश्चात यो पहिलो परामर्श वैठक सम्पन्न भएको हो ।कार्यक्रमका अवसरमा कोष सञ्चालनका लागि पुग्नुपर्ने प्रारम्भिक रकम । १० करोडका लागि योगदान गर्ने प्रारम्भिक योगदानकर्ताहरु २ सय ४० संघ संस्थालाई प्रशंसापत्र प्रदान गरिएको थियो भने अन्य योगदान कर्ता १ सय ४० संघ संस्थालाई कोषमा सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।