पुष १०, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन हुने भएको छ । आइतबार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा यो सहमति जुटेको हो ।
सहमतिको ड्राफ्ट बनाउने कार्य भइरहेको ओलीको सचिवालयले जनाएको छ । सहमतिअनुसार एमालेले राष्ट्रपति र सभामुख लिने भएको छ ।
नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनमा भागबण्डा नमिलेपछि अध्यक्ष प्रचण्ड बालकोट पुगेका थिए । जहाँ ओली प्रचण्डसहित एमाले र माओवादीका नेताहरु र राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजान्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीका नेताहरुबीच बैठक बसेको थियो ।
अंकगणितअनुसार प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेसँग ७८ सांसद छ । माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, जनमत पार्टी ६ सांसद र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद रहेका छन् । यसरी कुल मिलाउँदा हाललाई १६६ सांसदको समर्थनमा सरकार बन्ने देखिएको छ ।