लैङ्गिक समानताका लागि महिला जनप्रतिनिधिको सहभागिता

मङ्सिर २३, काठमाडौँ – मोरङका राजनीतिक दलका नेता, जनप्रतिनिधि र कर्मचारीले समाजमा लैङ्गिक समानता कायम गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । दलित महिला केन्द्रले बिहीबार विराटनगरमा आयोजना गरेको लैङ्गिक समानताका लागि महिला जनप्रतिनिधिको राजनीतिक सहभागिताबारे अन्तक्र्रियामा दलका नेता र जनप्रतिनिधिले यस्तो प्रतिबद्धता जनाएका हुन्।

नेकपा (एकीकृत समाजवादी) प्रदेश नं १ का सदस्य विराज घिमिरेले घरदेखि दलसम्म महिलालाई नेतृत्वमा अवसर दिनसके मात्र समाजबाट लैङ्गिक असमानता हटेर समानता आउने भएकाले आफू र आफनो पार्टी त्यसका लागि सजग र सचेत रहने प्रतिबद्धता गए।

नेपाली कांग्रेस मोरङका सहसचिव भुवनेश्वर राजवंशीले अवसर पाएमा महिलाले सफलरुपमा नेतृत्व निर्वाह गर्न सक्ने उदाहरण रहेको हुँदा उनिहरुलाई घर र दल दुवैमा अवसर दिन आफूहरु तयार रहेका छौँ भने । जनता समाजवादी पार्टी मोरङका नेता राधे कामतले महिलालाई नेतृत्व दिन सबै राजनीतिक दलले प्रतिबद्धता मात्र होइन कार्यान्वयन गर्नुपर्ने धारणा राखे । उर्लाबारी नगरपालिकाका प्रमुख गङ्गा खरेलले लैङ्गिक समानता ल्याउन महिलाले मात्र आवाज उठाएर पुग्दैन भन्दै पुरुषले पनि अग्रसर भएर उहाँहरुका हक अधिकारका लागि लड्नुपर्ने बताए ।

सुन्दरहरैँचा नगरपालिका प्रमुख केदारप्रसाद गुरागाईंले पनि राजनीतिक दलले सोचमा परिवर्तन नगर्दा महिलाको अवसर कुण्ठित भइरहेको विचार राखे। कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले महिलाले नेतृत्वमा अर्थपूर्ण सहभागिता पाएमात्र समाजमा लैङ्गिक समानता आउछ भने ।

बेलबारी नगरपालिका प्रमुख डिपी राई, रङ्गेली नगरपालिका उपप्रमुख झुमा पराजुली, केराबारी गाउँपालिकाका उपाध्यक्ष मनमाया मगर, ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार र दलित महिला केन्द्रकी केन्द्रीय उपाध्यक्ष लक्ष्मी परियार लगायतले राजनीतिक नेतृत्व सबल नभएसम्म समाजमा लैङ्गिक समानता आउन नसक्ने भएकाले जनप्रतिनिधि, दलका नेता र महिलाका लागि निरन्तर क्षमता अभिवृद्धि र सशक्तिकरण कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।