मंसिर ८, एजेन्सी – पाकिस्तानी सेनाले चाँडै नयाँ कमाण्डर पाउने भएको छ ।
नयाँ सेनापतिका लागि ६ वरिष्ठ जनरलहरूको नामको सूची प्राप्त गरेको प्रधानमन्त्रीको कार्यालयले पुष्टि गरेको छ । वर्तमान सेना प्रमुख जनरल कमर जावेद बाजवाले ६ वर्षको कार्यकाल पूरा गरेपछि नोभेम्बर २९ मा राजीनामा दिँदै छन् । प्रधानमन्त्री सहबाज सरिफको कार्यालयले बुधबार ट्विट गर्दै सेना प्रमुख र पदका लागि नाम प्राप्त गरेको जानकारी दिएको छ ।
‘निर्धारित कार्यविधिअनुसार प्रधानमन्त्रीले नियुक्तिबारे निर्णय लिनेछन्,’ प्रधानमन्त्रीको कार्यलयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बाजवाले सन् २०१६ नोभेम्बरमा मा तीन वर्षको लागि ६ लाख सेनाको नेतृत्व लिएका थिए । उनलाई तत्कालीन प्रधानमन्त्री इमरान खानले सन् २०१९ को अगस्टमा म्याद थपेको थियो ।