कात्तिक २९, काठमाडौं – ‘ मेमोरी किङ’ का नामले विश्वमा परिचित अर्पण शर्मा (कट्टेल) लाई भावी नेपाली पुस्तालाई स्मरणशक्तिको विधिबाट पढाएर शिक्षाको क्षेत्रबाट देशको मुहार फेर्न मन छ ।
विद्यमान शिक्षा प्रणालीले बालबालिकालाई पढ्न असाध्यै कठिनाइ भएको र परीक्षामा पास गर्नका लागि मात्र उनीहरुलाई पढाउने खालको शिक्षा प्रणालीमा परिर्वतन ल्याउनमा आफू लाग्ने योजना उनको योजना छ ।
“नेपालको शिक्षा प्रणालीमा परिर्वतन गर्न मन छ, रटेर अध्ययन गर्ने विधि परिवर्तन मेरो नेतृत्वमा गर्न मन छ”, दुईपटक स्मरणशक्तिको माध्यमबाट विश्व रेकर्ड राख्न सफल शर्माले आफ्नो भावी योजना सुनाउँदै भने “शिक्षाको क्षेत्रबाट देशको मुहार फेर्न मन छ, मेरो सपना छ, म पूरा गरेरै छाड्छु ।” उनलाई हिजो पढेर आज बिर्सने शिक्षा प्रणालीमा परिर्वतन गर्न मन छ ।
आफूले लिएका कक्षाहरूमा पनि विद्यार्थीलाई प्रभावकारी तरिकाले पढाउन नसकिएको अनुभव भएपछि उनको पाँच सय विद्यार्थीबाट अहिले एकपटकमा एक सय जनामात्र विद्यार्थीलाई कक्षा लिन थालेका छन् छ । “मलाई पनि थाहा भएन, अहिले मैले एक सय जना मात्र राखेर पढाइरहेको छु”, उहाँले आफ्नो आगामी योजना सुनाउँदै भने, “मङ्सिर महिनादेखि एउटा कक्षामा ८० जना मात्र राखेर कक्षा सञ्चालन गर्ने तयारी गरेको छु, त्यो सिकाइ प्रभावकारी हुने रै’छ ।”
उनको कक्षा लिन मासिक एक हजारदेखि एक हजार पाँच सयसम्मले नाम दर्ता गर्ने गर्दछन् । तर इच्छुक धेरै हुँँदा कक्षा लिनका लागि समयको प्रतिक्षा गर्नुपर्ने हुन्छ । एकपटक कक्षा सञ्चालन गर्दा १० दिनको हुन्छ ।
“धेरैजसो अधिकृत र उपसचिवमा नाम निकाल्ने तयारीका मानिस आउँछन्”, उनको आफ्नो कक्षा लिन आउने विद्यार्थीका बारेमा सुनाउँदै भने , “उपत्यकाबाट छोरी र उपत्यका बाहिरबाट छोरा धेरै आउने गरेका छन् ।” उनको कक्षामा ७ कक्षाभन्दा माथिका विद्यार्थीलाई मात्र आउन मिल्छ । कक्षा लिएर गएको विद्यार्थीले पठाएको सन्देश देखाउँदै उनले भने , “म सफल भएँ भनेर म्यासेज पठाउँछन्, मलाई असाध्यै खुसी लाग्छ, अझ राम्रो गर्न प्रोत्साहन मिल्छ ।” उनले आएका सन्देशलाई सुरक्षित राखेका छन् ।
झापाको भद्रपुर–८ मा विसं २०४६ माघ २३ गते मोहनप्रसाद कट्टेल र आमा खीना शर्माको तेस्रो सन्तानका रूपमा जन्मिनुभएका शर्माले झापाकै एसएस निकेतनमा एसएलसी पास, एम्ब्रेल कलेजबाट व्यवस्थापनमा स्नातक गरेका छन् । उनले पनि जीवनमा स्मरणशक्तिकै प्रयोग गरेर विश्व रेकर्ड राख्न सक्छु भन्ने कल्पना जीवनमा गरेका थिएनन् ।
सानैदेखि धार्मिक परिवारमा जन्मिएका शर्मालाई पूजापाठ गर्दा ध्यान गर्ने बानी परेको थियो । तर स्मरणशक्ति बढाउन ध्यानले मद्दत गर्छ भन्ने चाहिँ थाहा थिएन । “मैले दशजोड दुई पढ्दा एउटा दुई मिनेटको भिडियो हेरेको थिएँ, स्मरणशक्ति बढाउनेसम्बन्धी थियो”, उनले त्यो भिडियो स्मरण गर्दै सुनाए, “दशवटा रटेर गर्ने र दशवटा टेक्निक लगाएर याद गर्ने थियो, मैले त्यो रटेर गर्ने तरिका र टेक्निक लगाएर गर्ने दुवै गरेँ, तर टेक्निक लगाएर याद गरेको धेरै लामो समयसम्म याद आइरहयो ।
” उहाँले त्यसपछि १५, २०, ३० हुँदै याद गर्दै गए ।उनले यस्तो सम्भव छ भनेर अध्ययन गर्दा १८औँ शताब्दीदेखि नै राजा–महाराजाका बौद्धिक सल्लाहकारले यस्तो टेक्निक प्रयोग गरेको अध्ययनमा पाए । “धेरै वर्ष पहिला अहिलेजस्तो प्रविधिको जमाना थिएन”, उनले थपे , “लेख्ने मात्र जमाना थियो, जसले प्रयोग गरे, त्यो व्यक्तिमा मात्र रह्यो ।” प्रत्येक व्यक्ति जन्मँदा स्मरणशक्ति ९९ प्रतिशतको उस्तै हुने तर एक प्रतिशतको मात्र जन्मजात नै स्मरणशक्ति लिएर जन्मने उनको अनुभव छ ।