मतदाता भन्छन्ः ‘निर्वाचनपछि काम गरेर खान पाइयोस, सुखले बाँच्न पाइयोस्’

कात्तिक २७, भरतपुर  – आसन्न निर्वाचन आउन अब सात दिन मात्र बाँकी छ । राजनीतिक दल र नेताहरू मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा लागेका छन् । कोही घरदैलो गर्दै हिँडिरेका छन् त कोही कोणसभा र चुनावीसभा ।

पछिल्लो साता राजनीतिक माहोल तातिरहेका बेला दिनभर काम गरेर खाने निम्न वर्गका मतदातालाई भने चुनावले खासै तताउन सकेको छैन । उनीहरु अहिले पनि कसरी आफ्नो गर्जो टार्ने भन्ने चिन्तामा छन् । निर्वाचनको समयमा गरेका बाचा जितेर गइसकेपछि भुल्ने नेताहरूलाई किन भोट हाल्ने भन्ने उनीहरुको प्रश्न छ ।

भरतपुर महानगरपालिका–१ लीलाचोककी बाटुलीमाया श्रेष्ठ चुनाव जितेर गएपछि नेताहरू पाँच वर्ष देखा नै नपर्ने गरेको गुनासो गरे । “भोट हालेर चुनावमा जिताएर के गर्ने रु काम गरीखाने ठेला महानगरमा छ । काम गरेर पनि खान दिइएन”, उनले गुनासो गरे । “रोजगारी दिन्छु भन्दै भोट मागेको सम्झदै उहाँले नेताहरू जितेपछि फर्केर नआएकामा कसलाई गुनासो गर्ने”, भने ।

उहाँले ठेलामा मकै पोलेर परिवार पाल्दै आएका छन् । उनले साँझ बिहानको हातमुख जोर्ने ठेला भरतपुर महानगरपालिकाले लगिदिएको छ । सडकमै मकै बेच्दै गर्दा महानगरपालिकाबाट आएका नगर प्रहरीले उनको ठेला नियन्त्रणमा लिएका थिए । “पटक–पटक महानगर धाउँदा पनि ठेला पाइएन”, उनले भने , “हामी सोझा मान्छेको पहुँचमा मान्छे छैनन् ।” उहाँले निर्वाचनपछि काम गरेर खाना र सुखले बाँच्न पाए अरु केही नचाहिने बताए ।

भरतपुर महानगरपालिका–११ भोजाडकी मतिमाया कुमाल यसपटकको निर्वाचनमा दोधारमा रहेको बताउछन् । “यसअघि पटक–पटक भोट हाल्यौँ, तर हाम्रो जीवनमा परिवर्तन आएन”, उनले भने । खाद्यान्नको मूल्य आकाशिएको भन्दै उहाँले साँझ बिहानको छाक पनि टार्न नसक्ने अवस्था आउन लागेको गुनासो गरे ।

“महँगी दिनदिनै बढ्छ, मजदुरको ज्याला बढ्दैन, जनताको दुःख बुझ्ने नेता को छ र रु” उनले प्रश्न गर्दै भने । प्यारालाइसिसका कारण एउटा हात नचल्ने उहाँका श्रीमान्ले ज्याला मजदुरी गर्नुहुन्छ । यसैबाट घरमा चुलो बलेको छ । आफूलाई भोट हाल्न मन नलागे पनि श्रीमान्ले भने एकपटक सोचेर भोट दिनुपर्छ भन्ने गरेको उनले बताए ।

भरतपुर महानगरपालिका–१ की लक्ष्मी श्रेष्ठले प्रत्येक चुनावमा लालपुर्जाको आश्वासन दिँदै उम्मेदवार भोट माग्न आएको बताए । उनी भन्छन् , “हामीलाई आश देखाएको वर्षौँ भइसक्यो, अब कहिलेसम्म पर्खने ।” उनले आफ्नै घर अगाडिको भत्केको सडक देखाउँदै यिनीहरूलाई कसरी भोट दिने भने । “तीन वर्षअघि कालोपत्र गरेको कमसल काम भएका कारण भत्कियो”, उनले भने , “अहिले दिनभर धुलो खाँदै बस्नुपरेको छ ।” अटो चलाउँदै आउनुभएका भरतपुर–१ का रामबहादुर क्षेत्री काम गर्ने वातावरण नभएकै कारण हजारौं युवा विदेशिनुपरेको बताउछन् । “निर्वाचनका बेला जनताको माग र आवश्यकता उम्मेदवारको घोषणापत्रसँग मिल्दोजुल्दो हुन्छ । पदमा गएपछि ती सबै कागजमा सीमित हुन्छ”, उनले भने ।

भरतपुर–१ स्थित पोखरा बसपार्कका रामजी शर्माले निर्वाचनको समयमा मत दिँदा विचार पु¥याउनुपर्ने बताए । “फकाउन र प्रलोभन दिन घर–घरमा आउन सक्छन्”,उनले भने , “देशको अवस्था हेरेर सोचविचार गरेर मत दिनुहोला ।” दियालो टोल विकास समिति भरतपुर–१ की अध्यक्ष सुवद्रा श्रेष्ठले पार्टीप्रति आफ्नो आस्था भए पनि सही व्यक्ति छनोट गर्नुपर्ने बताए । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चितवनका चार लाख आठ हजार तीन सय ४२ मतदाताले भोट हाल्दैछन् । यसमा महिला दुई लाख नौ हजार तीन सय नौ रहेका छन् भने पुरुष एक लाख ९९ हजार ३२ जना छन् ।