साउन २६, काठमाडौं – काठमाण्डौ उपत्यकाससहित ६० जिल्लामा डेङ्गीका बिरामी भेटिएको छ । पछिल्लो ८ महिनामा ९ सय ४ जनामा डेङ्गी पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
डेङ्गी फैलिन थालेपछि इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पालिका तथा जिल्ला स्वास्थ्य कार्यालयहरुसँग समन्वय गरेर लामखुट्टेको लार्भा नष्ट गर्ने काम गरिरहेको छ ।
अहिलेसम्म ललितपुर र रुपन्देहीमा डेङ्गीका बिरामी धेरै भेटिएका छन् । यी दुई जिल्लामा १ सय ५० भन्दा धेरै जनामा डेङ्गी पुष्टि भएको छ । डेङ्गी फैलिने जोखिम अब झन् धेरै रहेको छ ।
अघिल्ला वर्षहरुमा भदौदेखि सङ्क्रमण बढेको देखाएकाले पनि सङ्क्रमण बढ्न सक्ने अनुमान गरिएको छ । यसअघिका तथ्याङ्कले कात्तिक महिनाको अन्तिमसम्म पनि डेङ्गीका बिरामी भेटिएका देखाएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । पानी पर्ने र घाम लाग्ने क्रम नरोकिएकाले पनि डेङ्गीको जोखिम बढेको छ।