जेठ ३१,देउखुरी- दाङ जिल्लाको देउखुरी बहुमुखी क्याम्पसमा स्नातक तहको दोस्रो वर्षमा अध्ययनरत आशा चौधरीलाई अहिले पढाइ अधुरै रहने चिन्ताले सताएको छ । उनी जस्तै रुमा चौधरीसहित १० मुक्त कमलरी पनि आफ्नो स्नातक तहको पढाइ बीचमै रोकिने हो कि भन्ने चिन्तामा छन् ।
तुलसीपुर उपमहानगरपालिका–१७ जिनुवा गाउँकी आशाले नेपालगञ्जमा दुई वर्ष अर्काको घरमा काम गर्न बस्नु परेको थियो । विसं २०६७ मा असहाय नानीहरूको साथी (एफएनसी) नामक संस्थाले उहाँलाई उद्धार गरेर घरमा ल्याएपछि लमहीस्थित नर्ती स्कुलमा कक्षा ४ मा भर्ना भई पढ्न सुरु गरेकी आशाले माध्यमिक विद्यालय फलकापुरबाट १२ कक्षा उत्तीर्ण गरीन् ।
अहिले लमहीमै रहेको देउखुरी बहुमुखी क्याम्पसमा स्नातक तहको दोस्रो वर्षमा अध्ययनरत आशाको घरको आर्थिक अवस्था कमजोर छ । बुबा प्यारालाइसिसको बिरामी भएर ओछ्यानमा परेका छन् । बुबाको हेरचाह गर्नेदेखि अरूको घरमा काम गरेर परिवार पाल्नुपर्ने जिम्मेवारी आमाको काँधमा छ ।
सरकारले मुक्त कमलरीलाई कक्षा १२ सम्म दिएको छात्रवृत्तिमा अध्ययन गरेकी आशा भन्नुहुन्छ, “अहिले स्नातकको अध्ययन गर्न असहज भएको छ ।” कक्षा १२ भन्दा माथिका विद्यार्थीलाई मुक्त कमलरी परिचयपत्र नभएमा छात्रवृत्ति नदिने भएपछि अध्ययनलाई बीचमै छाड्नुपर्ने बाध्यता रहेको छ ।”
गढवा गाउँपालिका–४ कट्यानकी रुमा चौधरीको अवस्था पनि उस्तै छ । रुमाले दाङको नर्तीस्थित लावाजुनी छात्रवासमा बसेर १२ कक्षा पास गर्नुभएको थियो । स्नातक तह दोस्रो वर्षमा अध्ययनरत रुमाका बुबाको निधन भइसकेको छ । घरमा आमा र दुई बहिनी छन् । रुमाकी दिदीको बिहे भइसक्यो । घरमा कमाउने कोही छैनन् । स्नातक तह पार गर्ने आफ्नो सपना पनि अधुरो हुन्छ कि भन्ने डर उहाँलाई लागेको छ । उनी भन्छिन् ‘अहिले माथिल्लो कक्षा अध्ययन गर्न अन्योल भइरहेको छ ।” उनका अनुसार, परिचयपत्र नभएका १२ कक्षाभन्दा माथिका आफूहरूजस्ता मुक्त कमलरीलाई छात्रवृत्ति नदिने भएपछि अध्ययन गर्न अन्योल भएको हो । माथिल्लो कक्षाको पढाइ कसरी पूरा गर्ने भन्ने चिन्ताले सताइरहेको पनि उनले बताइन् ।