बैशाख ११,काठमाडौं – निर्वाचन आयोगले यही ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि आज र ९सोमबार० भोलि उम्मेदवारको मनोनयन दर्ता गर्ने समय दिएको छ ।
देशभर ७५३ वटै स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा आइतबार र सोमबार बिहान १० देखि साँझ ५ बजेसम्म निर्वाचन अधिकृतले उम्मेदवारको मनोनयन दर्ता गराउनेछन् । आयोगले उम्मेदवारी दर्ताका लागि कुनै पनि शुल्क तोकेको छैन । तर, उम्मेदवारले धरौटी रकम भने जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उम्मेदवारले मनोनयन दर्ता शुल्क नभई धरौटी रकम बुझाउनुपर्ने व्यवस्था गरिएको बताए । जसअनुसार महानगरपालिका(उपमहानगरपालिका(नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष पदमा मनोनयन दर्ता गराउने व्यक्तिले एक हजार पाँच सय रुपैयाँ धरौटी जम्मा गर्नुपर्नेछ ।
त्यस्तै, वडा अध्यक्ष पदका लागि एक हजार रुपैयाँ र वडा सदस्य पदका लागि मनोनयन गराउनेले पाँच सय रुपैयाँ धरौटी रकम बुझाउनुपर्ने निर्देशिकाले व्यवस्था गरेको छ । यस्तो धरौटी रकममा समेत महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिकरुपले विपन्न व्यक्तिले छुट पाउने व्यवस्था छ ।
निर्देशिकाअनुसार निर्वाचनमा धरौटीबापत जम्मा भएको रकम मत परिणाम आइसकेपछि निर्वाचन अधिकृतको कार्यालयले फिर्ता गर्नेछ । तर, त्यसका लागि केही सर्तहरू राखिएका छन् ।
निर्वाचनमा विजयी र पराजित भएपनि कुल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त गर्ने उम्मेदवारको धरौटी रकम फिर्ता हुनेछ । तर, खसेको सदर मतको दश प्रतिशतभन्दा कम मत मात्रै पाउने उम्मेदवारले भने, जम्मा गरेको धरौटी रकम फिर्ता पाउने छैनन् ।