बैतडीमा राष्ट्रिय परिचय पत्र वडामा

चैत १४, बैतडी – राष्ट्रिय परिचय पत्र बनाउन जिल्लाका नागरिकको उत्साहजनक सहभागिता देखिएको छ । वडा तहबाटै परिचय पत्रका लागि विवरण सङ्कलन अभियान सुरु भएपछि नागरिकको उत्साहजनक सहभागिता रहेको हो ।

यसअघि जिल्ला प्रशासन कार्यालबाट भइरहेको परिचय पत्र विवरण सङ्कलनको काम गत आइतबारबाट वडा तहबाटै सुरु भएको थियो । जिल्लाको सिगास र डिलाशैनी गाउँपालिकाका वडामा राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलनको काम भइरहेको छ ।

वडामा सञ्चालन भएको अभियानमा नागरिकको उत्साहजनक सहभागिता रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । हाल विवरण परिचय पत्र बनाउन विवरण दिनेको भीड लाग्ने गरेको छ । एक हप्तामै दुई हजार ५०० को विवरण सङ्कलन भइसकेको छ । उनले भने ‘परिचयपत्र बनाउन विवरण दिनेको सङ्ख्या निकै उत्साहजनक छ, यसबारे विषयमा प्रचारप्रसार हुनु, यसको महत्वका बारेमा सबैले जानकारी पाएका कारण उत्साहजनक सहभागिता भएको हुनुपर्छ ।

’यसका साथै गाउँमै विवरण सङ्कलनको काम भइरहेकाले पनि सहभागिता बढेको जनाइएको छ । ती दुई गाउँपालिकाका विभिन्न वडामा विवरण सङ्कलनका गर्न ३५ विवरण दर्ता अपरेटर खटाइएका छन् । एक पालिकामा कम्तीमा १५ दिन विवरण सङ्कलनको काम हुनेछ । जिल्लाका अन्य स्थानीय तहमा पालैपालो अभियान सञ्चालन हुने प्रशासनले जनाएको छ ।

१६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता लिएका नागरिकको राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलन भइरहेको हो । राष्ट्रिय परिचय पत्रका लागि फारम भर्न जाँदा नागरिकताको सक्कल प्रमाणपत्र, आमाबुबा र बाजेको नागरिकता भए सक्कल र नभए नामथर खुल्ने कागजपत्र साथमा लैजान आग्रह गरिएको छ ।

यसैगरी बसाइँसराइ गरेको भए सो प्रमाणपत्र, राहदानी लिएको भए सो प्रमाणपत्र सक्कलै लैजान पनि आग्रह गरिएको छ । विवरण दिनका लागि स्वयं आफू उपस्थित भएर सक्कली नागरिकता हुनुपर्ने, नागरिकता, फोटो, लोगो केरमेट नभएको हुनुपर्ने, विवाहित महिलाको हकमा श्रीमानको पनि सक्कली नागरिकता र विवाह दर्ता पनि अनिवार्य गरिएको छ ।

राष्ट्रिय परिचय पत्र बहुउपयोगी परिचय पत्र भएकाले यो परिचयपत्र बनाउन सबै नागरिकलाई आग्रह गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि बैतडीमा सुरु भएको परिचय पत्र विवरण सङ्कलनमा प्रशासन कार्यालयमा मात्रै हालसम्म सात हजार बढीको विवरण सङ्कलन गरिएको छ ।