आजदेखि संसद्मा एमसीसी प्रस्तावमाथि छलफल हुने

फागुन १२, काठमाडौं – आजदेखि संसद्मा एमसीसीबारे छलफल शुरु हुने भएको छ। दिउँसो १ बजे बस्ने बैठकमा प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची तय भएको छ। यद्यपि, त्यसअघि बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले कार्यसूचीमा हेरफेर गर्न सक्नेछ । संसद् सचिवालयले बुधबार प्रकाशित गरेको सम्भावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव पेस हुने उल्लेख छ। त्यसलगत्तै एमसीसीमाथि छलफल शुरु हुनेछ । आइतबारको बैठकमा एमसीसी पेस भएको थियो ।

संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले प्रस्ताव सैद्धान्तिक छलफलका लागि पेस भएपछि छलफलमा भाग लिन चाहने सांसदले नाम टिपाउने बताए । निर्धारित समयभित्र उनीहरूले आफ्नो धारणा राखेपछि सम्बन्धित मन्त्रीले छलफलमा उठेका जिज्ञासाको जवाफ दिनेछन् । निर्णयार्थ प्रस्तुत हुनुपूर्व सांसदले बोल्ने भएकाले एमसीसीमाथिको छलफल लम्बिन सक्ने बताइएको छ ।

हाल प्रतिनिधिसभामा २७१ सदस्य कायम छन् । एमालेका ९८, कांग्रेसका ६१, सभामुखसहित माओवादीका ४९, एकीकृत समाजवादीका २३, जसपाका १९, लोसपाका १३ र राप्रपा, जनमोर्चा, नेमकिपा र स्वतन्त्र एक–एक सांसद छन् । दलहरूबीच सहमति नभई एमसीसी निर्णयार्थ संसद्मा पेस भए प्रस्तावमाथि लिखित मत विभाजन हुने सम्भावना छ। दश प्रतिशत अर्थात् २८ सांसदले माग गरे सभामुखले प्रस्तावलाई लिखित मत विभाजनमा लैजान सक्छन् ।