माघ २१, दाङ –दाङको पर्यटकीयस्थल तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा घरैपिच्छे घरबास(होमस्टे) निर्माण गरिएको छ । त्यहाँ अहिलेसम्म सात होमस्टे निर्माण गरिएको स्थानीय प्रविर पुनले बताए । ‘ हामीले यहाँ १० वटा होमस्टे सञ्चालनमा ल्याइसकेका छौंँ’ उनले भने ‘अहिलेसम्म सात होमस्टे दर्ता गरेका छौँ, १० वटा होमस्टे सञ्चालन गर्ने गरी तयारी गरेका छौंँ ’ ।
विसं २०७६ देखि त्यहाँका स्थानीयवासीले होमस्टे सञ्चालनमा ल्याएका हुन् । त्यहाँको पर्यटकीय, धार्मिक तथा ऐतिहासिक महत्व अवलोकनका लागि पर्यटक आउने गरेका छन् । ती पर्यटकलाई होमस्टेको सेवा दिने गरेको स्थानीय जीवराज रेउलेले बताए । उनका अनुसार होमस्टेले त्यहाँका स्थानीयवासीको आम्दानीको स्रोत पनि बढेको छ । ‘अहिले कोरोनाले गर्दा केही असहज भएको छ उहाँले भन्नुभयो, “नत्र परिवार पाल्नलाई होमस्टेले हामीलाई निकै सहज बनाएको छ ।’
होमस्टेमा जैविक खाना प्रदान गर्ने गरिएको उनको भनाइ छ । स्थानीय उत्पादन भएको रोटी, ढिँडो, सिस्नोको तरकारी, लोकल कुखुरा, दही, दूध, स्थानीयस्तरमा उत्पादन गरेको रक्सी, जाँड खुवाउने गरेको उनले बबताए । सबै सबै जैविक उत्पादन रहेको र सोहीअनुसार पाहुनालाई खुवाउने गरिएको उनको भनाई छ ।
उनका अनुसार १०० लिने गरिएको छ । यो उपमहानगरपालिकाले तोकेको दर रहेको उनको भनाइ छ । होमस्टे उपमहानगरपालिकामा दर्ता भएर सञ्चालनमा ल्याइएको हो । उपमहानगरपालिकाको नियमानुसार आफूहरूले होमस्टे सञ्चालनमा ल्याइरहेको उनले बताए ।
साथै उपमहानगरपालिकाले प्रोत्साहनका लागि विभिन्न बाजागाजा प्रदान गरेको छ । उपमहानगरपालिकाले पुनका अनुसार बाँसुरी, खैजडी, मादल, सारङ्गी, डेग, मगर ड्रेस प्रदान गरेको छ । अहिले होमस्टेका लागि विराटनगर, पाल्पा, नवलपरासी, कैलाली, नेपालगञ्जमात्रै नभई अमेरिकाबाट समेत पर्यटक आएर होमस्ेटको आनन्द लिने गरेका छन् । एउटा होमस्टेमा आठ जनालाई राख्न सकिन्छ । होमस्टेमा बस्दा सुरक्षाको ग्यारेन्टीसमेत आफूहरुले गर्ने गरेको उहाँको भनाइ छ । अहिले होमस्टेमा प्रायः शुक्रबार र शनिबार धेरै मान्छे आउने गरेका छन् । एकपटक आइसकेका व्यक्ति पुनः होमस्टेमा आउने गरेका उनले बताए ।
जिल्लाकै पर्यटकीय हिसाबले उत्तम ठाउँ छिल्लीकोट हो । किनकि त्यहाँ विश्वकै दुर्लभ वनस्पति मल्लागिरि पाइन्छ । त्यत्तिमात्रै होइन, त्यहाँ कुनै समय राजा बसेको ठाउँ पनि हो । उक्त ठाउँ भौगोलिक हिसाबले पनि एकदमै उत्तम स्थान हो । त्यहाँबाट रुकुमपूर्वको सिस्ने, रोल्पाको जलजला तथा धवलागिरि हिमालको अवलोकन गर्न सकिन्छ । त्यस्तै रुकुम, रोल्पा, सल्यान तथा दाङको भू–भागको पनि त्यहाँ अवलोकन गर्न सकिने पुनले बताए । सडक सञ्जालका हिसाबले पनि छिल्लीकोट रोल्पाको स्वर्गद्वारीसँग जोडिएको छ ।