पुष १८, नवलपुर – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ‘एक घर एक धारा’ अवधारणा अनुरुप जनतालाई सफा पानी वितरण गर्ने प्रदेश सरकारले नीति लिएको जानकारी दिए ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको जलुके खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २०औँ वार्षिक साधारणसभाको शनिबार शुभारम्भ गर्दै उनले प्रदेशभित्र एक हजार ५०० खानेपानीका आयोजना सञ्चालनमा रहेको र ती मध्ये ४२२ आयोजना सम्पन्न भइसकेको बताए ।
गण्डकी प्रदेशमा अहिले रु तीन अर्ब ६८ करोड लागतका खानेपानी आयोजना सञ्चालन भइरहेका छ । सो अवसरमा मुख्यमन्त्री पोखरेलले सुन्दरपुर डाँडामा रहेको संस्थाको एक लाख लिटर क्षमताको ओभरहेड ट्याङ्कीको उद्घाटनसमेत गरेका छन् ।
कार्यक्रमका गैँडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कँडेलले सुरक्षित खानेपानीको सन्दर्भमा उत्कृष्ट काम गरेको जलुकेले सरसफाइका क्षेत्रमा समेत थप कार्यक्रम गर्न सुझाव दिए ।
साधारणसभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष पार्वती शर्मा लम्सालले आर्थिक वर्ष २०७७÷७८ मा संस्थाले रु ५५ लाख ८४ हजार १६६ बचत गर्न सफल भएको बताउनुभयो । चालु आव २०७८÷७९ मा संस्थाले रु दुई करोड २० लाख ११ हजार आम्दानी गर्ने लक्ष्य राखेको उनले जानकारी दिए ।