पुष २, काठमाडौं – नेकपा एमालेले नेताहरुको कार्यविभाजन गरेको छ । हालै चितवनमा सम्पन्न १०औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित नयाँ नेतृत्वले अपानि जारी गर्दै पदाधिकारीसहित ३४५ केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट गरेको छ । एमालेले विभिन्न विभागका प्रमुख, उपप्रमुखसँगै प्रदेश र जिल्ला इञ्चार्ज पनि तोकेको छ ।
अध्यक्ष केपी ओलीले पार्टीको समग्र नेतृत्व गर्नेछन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी पाएका छन् ।
उपाध्यक्षहरू युवराज ज्ञवालीले प्रदेश र स्थानीय तह संयोजन, अष्टलक्ष्मी शाक्यले राजनीतिक समन्वय संयोजन, रामबहादुर थापा ‘बादल’ले कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षा, विष्णुप्रसाद पौडेलले पार्टीको सांगठानिक कामको अनुगमन, सुवासचन्द्र नेम्वाङले संसदीय मामिला र सुरेन्द्रप्रसाद पाण्डेले राजकीय मामिलाको जिम्मा पाएका छन्।
महासचिव शंकर पोखरेलले सांगठनिक कामको संयोजन गर्ने जिम्मेवारी पाएका छन्। उपमहासचिवहरू प्रदीप ज्ञवालीले पार्टी स्कुल विभाग, पृथ्वीसुब्बा गुरुङले प्रचार तथा प्रकाशन विभाग÷प्रेस चौतारी नेपाल तथा सम्बद्ध संगठनको इन्चार्जको जिम्मा पाउँदा विष्णु रिमालले निर्वाचन विभाग र आर्थिक तथा कोष व्यवस्थापनको जिम्मेवारी पाएका छन्।