सामूहिक बलात्कारका तीन आरोपी पक्राउ

कात्तिक २३, काठमाडौँ – सामूहिक बलात्कारको अभियोगमा प्रहरीले तीन युवालाई पक्राउ गरेको छ । बेनी नगरपालिका–५ पुलाचौरमा एक महिलालाई बलात्कार गरेकोे किटानी जाहेरीका आधारमा २४ वर्षीय हिटमेन बानियाँ, २२ वर्षीय प्रकाश रामदाम र १८ वर्षीय प्रवेश रामदामलाई अलग–अलग ठाउँबाट प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो ।

तीमध्ये एकजनालाई रुपन्देही र दुई जनालाई पोखराबाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए । “आधुनिक विधि र प्रविधि प्रयोग गरी अनुसन्धान भइरहेको छ, घटनामा कसैको दबाब छैन”, उनले भने ।

एक्लै सुतिरहेको अवस्थामा ती युवाले जबर्जस्ती धम्क्याउँदै पालैपालो बलात्कार गरेको भन्ने पीडितको उजुरी परेकाले जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरी पीडकको खोजी गरिएको थियो । उक्त घटना थामथुम पार्न गाउँका केहीले पीडितका आफन्तहरूकै उपस्थितिमा पीडित युवतीको परिवारबीच आर्थिक लेनदेन गरी मिलापत्रको प्रयास गरेको हल्लाले अनुसन्धानमा असर नगर्ने प्रहरीको भनाइ छ । मुलुकी अपराध संहितामा १८ वर्ष वा माथिका कसुरदारलाई बलात्कारको अभियोगमा १० देखि १२ वर्षसम्म कैद सजायका साथै सामूहिक बलात्कार पुष्टि भएमा थप पाँच वर्ष सजाय हुने कानुनी व्यवस्था छ ।