स्वास्थ्य क्षेत्र सुधारका लागि आमूल परिवर्तन गर्नुपर्छ – प्रचण्ड

कात्तिक १२, चितवन –नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्र सुधारका लागि आमूल परिवर्तन गर्नुपर्ने बताएका छन् । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घले आज यहाँ आयोजना गरेको ‘चितवनको स्वास्थ्य सरोकारमा क. प्रचण्ड’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वास्थ्य क्षेत्रमा नीतिगतरूपमा आमूल परिवर्तन ल्याउनुपर्ने बताएका हुन् ।

उनले राजनीतिक परिवर्तन भए पनि पुरानै ऐन, नियम र परम्परा कायम रहेकाले स्वास्थ्य क्षेत्रमा परिवर्तन आउन नसकेको उल्लेख गरे ।
संविधानमा समाजवादोन्मुख राज्य भने पनि व्यवहारमा त्यो लागू गर्न नसकिएको बताउँदै उनले भने ‘संविधान र राजनीतिक दस्तावेजमा राम्रा कुरा लेखिए, तर व्यवहारमा आएन । ’आफूहरुले देखेको सपना स्वास्थ्य र शिक्षा राज्यको दायित्वभित्र पर्ने विषय भएको जनाउँदै उहाँले स्वास्थ्य र शिक्षालाई मौलिक अधिकारका रूपमा लिएर पनि ठोसरूपमा प्रगति हुन नसकेको बताए ।
भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अर्बौँ लगानी भइसकेकाले क्यान्सरसँग सम्बन्धित केन्द्र अन्यत्र हुन नसक्ने उनको भनाई थियो ।

कार्यक्रममा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकरी, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतम, नेपाल चिकित्सक सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डा अनिलविक्रम कार्की, निजी अस्पताल समन्वय समितिका अध्यक्ष नारायणसिंह कुँवर, डा कृष्णसागर शर्मा, डा मधु न्यौपाने, डा आविस्कार चापागाईँलगायतले स्वास्थ्य क्षेत्रका समस्याबारेमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डलाई अवगत गराए ।