दार्चुलामा बाढीपहिराले तीनको मृत्यु, दुई बेपत्ता

भदौं १४, दार्चुला  – दार्चुलाका विभिन्न भेगमा आएको बाढी र पहिराका कारण तीनको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । आइतबार राति आएको बाढीपहिराले दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा भौतिक तथा मानवीय क्षति गरेको हो ।
पहिराले घर पुरिँदा दुहुँ गाउँपालिका–१ बासपालिकामा नरसिंह महर र उनकी श्रीमती कौशा महरको मृत्यु भएको छ । राति सुतिरहेकै अवस्थामा घरमाथिबाट खसेको पहिराले उनीहरूको पुरिएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले बताए ।

यस्तै दुहँु गाउँपालिका–५ दुल्लामा बाढीले मनुवा डडालको पनि मृत्यु भएको छ । कालागाड खोलामा बेलुकी १० बजेदेखि आएको बाढीले डडाललाई घरैसहित बगाएको हो । बाढीले घरजग्गासहित पुल, जलविद्युत्, पानीघट्ट र पशुचौपायामा समेत क्षति पु¥याएको छ । यो क्षेत्रमा पाँच पसल, दुई लघु जलविद्युत् आयोजना, चार झोलुङ्गे पुल र एउटा पक्की पुल बगेको स्थानीयले बताएका छन् ।

त्यस्तै वडा नं ३ निजाङगाडमा बाढीले दुई जना बेपत्ता छन् । निजाङगाड खोलाको बाढीले स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्की बेपत्ता भएको स्थानीय दिलीपसिंह कार्कीले जानकारी दिए । निजाङगाडकै खोलाले दार्चुला–तिङ्कर सडकको पुल र दुई झोलुङ्गे पुल बगाएको छ । यो क्षेत्रका आधार्दजन घर तथा पसल बगाएको छ । दार्चुला तिङ्कर सडकखण्डको निजाङगाड पुल बग्दा दुहँु र व्यास गाउँपालिकाको सम्बन्ध विच्छेद भएको छ ।

दुहुँ–३ को श्रीवगडमा निजाङगाडले पूर्णबहादुर बम, नरेन्द्रबहादुर बम, दिपक बम, रणबहादुर बम धीरेन्द्र बम र शेरबहादुर बमको घर बगाएको छ । यस्तै महाकाली नगरपालिका– १ को श्रीबगडमा देवबहादुर बम, अमरबहादुर बम, सुन्दरबहादुर बम र जीतबहादुर बमको होटल तथा पसल बगाएको छ ।

यस्तै निजाङगाड खोला नजिकै रहेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयको रेञ्जपोष्ट भवनको आधा भाग बगाएको छ । अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस र स्थानीय पुगेका छन् । राती २ बजेबाट आएको बाढीले श्रीबगड क्षेत्रमा खेतबारी नोक्सान गरेको छ ।