महिला अधिकारका लागि लड्ने साहसी महिला मङ्गलादेवी

भदौं १०, काठमाडौं – नेपालको महिला अधिकार र जहानियाँ राणा शासनविरुद्धमा लड्न स्वर्गीय मङ्गलादेवी सिंहको महत्वपूर्ण योगदान रहेको छ । नेपाल महिला सङ्घकी संस्थापक अध्यक्षसमेत रहेकी स्व सिंहले जहानिया राणा शासनको कठोर समयमा जोखिम उठाउँदै महिलाका हकहितका लागि देशभरका महिलालाई एकतावद्ध गर्न महत्वपूर्ण भूमिका खेलिन्। स्व सिंहको जन्म विस १९८१ मा काठमाडौँमा भएको हो । विस १९९७ असारमा गणेशमान सिंहसँग विवाह भए पनि १९९७ कात्तिकमा गणेशमान सिंह प्रजापरिषद्मा लागेको भन्दै जन्मकैदको सजाय भएपछि उनी जहानियाँ राणा शासन विरोधी आन्दोलनमा सक्रिय थिइन् ।

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइराला मङ्गलादेवी महिला आन्दोलनको क्रियाशील व्यक्तित्व भएको बताउछिन् । मङ्गालादेवीको योगदानका कारण अहिले सरकार र पार्टीभित्र महिलाको एकतिहाइ अधिकार सुनिश्चित भएको उनको भनाइ थियो । “देशभर भएको सशस्त्र क्रान्तिमा मङ्गलादेवी, दिव्या कोइराला, सुष्मा कोइराला, नलिनी उपाध्याय, इन्दिरा आचार्य, नोना कोइरालालगायत जेल पर्दा मैले उहाँलाई जेलमा भेटेको थिए, उनी साहसी महिला हुनुहुन्थ्यो”, उनी भन्छिन् ।

मङ्गलादेवी विसं २००४ मा भूमिगत सङ्गठनका रुपमा नेपाल महिला सङ्घको स्थापना गरेर अध्यक्ष भइन् । विसं २००५ मा पद्मशमशेरले गरेको सुधारप्रति असन्तोष प्रकट गर्दै उहाँ जुलुस लिएर राणाको दरबार पुग्नुभएको थियो । विसं २००७ को सशस्त्र क्रान्तिमा उहाँले ठूलो भूमिका निर्वाह गर्नुभएको थियो । नेपाल महिला सङ्घकी अध्यक्ष उमा रेग्मी नेपालको प्रजातन्त्र स्थापनामा मङ्गलादेवीको ठूलो योगदान रहेको बताउछिन् । “निर्वाचनमा महिलालाई भोट दिने अधिकार, महिलालाई शिक्षा दिने अधिकार उहाँकै योगदानबाट सम्भव भएको हो”, उनी भन्छिन् ।

उनलाई विसं २०१७ मा संसदीय व्यवस्थाको अपहरण भएपछि विरोध गर्दा पक्राउ गरी पाँच वर्ष कैद गरिएको थियो । उहाँ विसं २०२५ पछि आठ वर्ष प्रवासमा रहनुभएको थियो । मङ्गलादेवी विसं २०४२ मा सत्याग्रह र विसं २०४६ को आन्दोलनमा पनि सक्रिय थिइन् विसं २०४८ प्रतिनिधिसभा निर्वाचनमा पराजित भइन् । उनले ‘नारी सङ्घर्षका पाइलाहरु’ नामक संस्मरणात्मक पुस्तकसमेत प्रकाशन गरेकी छ न्। सिंहको निधन विसं २०५३ भदौ १० गते भएको थियो ।