रसुवामा एक्सरे अभाव

भदौं ८, रसुवा – रसुवा जिल्ला अस्पतालमा डिजिटल एक्सरे उपकरण नहुँदा पेट तथा छातीको उपचारमा समस्या परेको छ । पुरानो प्रविधिको म्यानुअल एक्सरेको फोटोमा प्रष्ट देख्न नसक्दा शरीरका भित्री भागमा हुने रोग छिटो पहिचान गर्न असहज भएको हो । म्यानुअल एक्सरे सञ्चालन गराउने प्राविधिक कर्मचारीसमेत नहुँदा कार्यालय सहयोगी कर्मचारीबाट उक्त कार्य हुँदै आएको छ ।

चिकित्सकहरूका अनुसार पुरानो प्रविधि छ । अस्पतालमा लडेर घाइते भएका बिरामीसमेत आउँछन् । एक्सरेले स्पष्ट पार्न मुस्किल परिरहेको छ । सीप भए पनि उपकरण अभावका कारण सिफारिस गर्न बाध्य पारेको चिकित्सक बताउँछन् । यस्तै गर्भवतीलाई सुत्केरी गराउन सिएस शल्यक्रियासम्बन्धी स्रोत, साधन तथा जनशक्तिको अभाव भएको जिल्ला अस्पतालका मेडिकल अधिकृत डा रेशम पोखरेलले बताए ।

अस्पतालबाट सेवा प्रदानका लागि पाँच चिकित्सक रहे पनि साधन, स्रोतका अभावमा भइरहेका छ । पुराना उपकरणबाट काम चलाउँदै आएको छ । उपलब्ध भएको अल्ट्रासाउण्डले ९भिडियो एक्सरे० पनि राम्रो काम नदिँदा उक्त सेवासमेत प्रभावित बन्दै गएको चिकित्सक बताउँछन् ।

दैनिक २०÷२५ जनाले उपचार सेवा लिने र जिल्ला अस्पतालको सेवा प्रभावकारी बनाउन भूकम्पपछिको पुनःनिर्माणअन्तर्गत नेपाल रेडक्रसले प्रि–फेब्रिकेटेड मोडलको भवन बनाई सेवालाई सहज पारे पनि साधन, स्रोतकै अभाव भएको हो । सेवा प्रवाहका लागि मेडिकल सुपरिटेन्डेन्ट एक, चिकित्सक पाँच, स्टार्फ नर्स पाँच, अनमी चार, एचए तीन, सि–एमए तीन, ल्याब असिस्टेन्ट तीन र कार्यालय सहयोगी १० जनाको दरबन्दी रहेको अस्पताल प्रशासनले जनाएको छ ।

सरकारी सुविधाबाट प्रदान गर्नुपर्ने निःशुल्क औषधिसमेत अभाव हुँदै गएको चिकित्सकले बताएका छन् । अस्पताल सञ्चालनमा आवश्यक औषधिसहितको उपकरण व्यवस्थापन गरिदिन प्रदेश सरकारसमक्ष आग्रह गरिसकिएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट भुवन केसीले जानकारी दिए ।

पर्यटकीय एवं धार्मिक क्षेत्र गोसाइँकुण्डका साथै रसुवागढी अन्तर्राष्ट्रिय नाका भएको जिल्ला अस्पताललाई सुविधायुक्त बनाउन प्रदेश सरकारसमक्ष पहल गरिरहेको अस्पताल विकास समितिका अध्यक्ष रामशरण कुइँकेलले बताउनुभयो । विसं २०४२ देखि सञ्चालनमा आएको रसुवा जिल्ला अस्पतालमा अहिलेसम्म सुविधायुक्त हुन नसकेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।