प्रविधिमैत्री सुन्तला बगैँचा व्यवस्थापन अभियानले कृषकमा आशा

साउन २, काठमाडौँ – सिक्टस ग्रिनीङलगायतका भाइरस एवं रोगका कारण सुन्तला खेती सङ्कटग्रस्त बन्दै गएका अवस्थामा पोखरा महानगरपालिकामा सञ्चालित मेयर प्रविधिमैत्री सुन्तला बगैँचा व्यवस्थापन अभियानले कृषकमा आशा जगाएको छ ।

एक दशकको अन्तरालमा नै जिल्लाका सुन्तला पकेट क्षेत्र खण्डहर बन्दै गएपछि चिन्तित बनेका कृषक महानगरले सञ्चालन गरेको अभियानसँगै राज्यको चासो बढेको भन्दै यतिखेर उत्साहित बनेका छन् । किसानलाई प्रोत्साहन गर्दै सुन्तला क्षेत्रको विस्तार गर्ने लक्ष्यसाथ तीन वर्षयता सञ्चालित अभियानअन्तर्गत रु ४५ लाख अनुदान हस्तान्तरण गरिएको छ । आव २०७८/०७९ का लागि रु २० लाख बजेट विनियोजन गरिएको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।

उहाँका अनुसार मलखाद प्रयोग गरेका पाँच वर्षमाथिका बिरुवाको प्रतिबिरुवा रु ३०, बोडो पेस्टलगायतका बिरुवाको रु ३०, बोडो मिक्स्चर स्प्रे गरेका बिरुवालाई रु २० र छापो प्रयोग गरेका बिरुवालाई रु २० का दरले प्रोत्साहनस्वरुप अनुदान रकम उपलब्ध गराइएको हो । घोषित पकेट क्षेत्रका २०४ बगैँचाका २० हजार बिरुवाले उत्पादन दिइरहेको छ । “सुन्तला पकेट क्षेत्रको रुपमा रहेका महानगरपालिका वडा नं २१ र २२ मा अभियान सञ्चालन भएको छ”, उनले भने, “चालू आर्थिक वर्षमा २०४ कृषकलाई सुन्तलाको बोटको आधारमा रु १५ लाख अनुदान प्रदान गरिएको हो ।” प्राविधिकसहितको टोलीले प्रत्येक कृषकको सुन्तला बगैँचामा पुगेर गरिएको अनुगमनको आधारमा अनुदान उपलब्ध गराइएको हो । कडरियाले भने, “रोगले बिरुवा मर्न लागेपछि बगैँचा सुधारका लागि महानगरले सञ्चालन गरेको कार्यक्रमअन्तर्गत चालू आवमा २० हजार सुन्तलालगायत कागती र जुनारका नयाँ बिरुवासमेत रोपिएको छ ।”

सुन्तलाका बिरुवा बाहिरी जिल्लाबाट ल्याउँदा रोगको प्रकोप बढ्ने खतरालाई मध्यनजर गर्दै महाशाखाले पोखरा–२२ स्थित खाल्सेमा सुन्तला नर्सरीसमेत स्थापना गरेको छ । प्रतिबिरुवाको रु २० तोकिएको छ । बाँकी रकम महाशाखाले अनुदान दिँदै आएको छ । पाँच वर्षभन्दा माथिका प्रतिसुन्तलाका बोटलाई महाशाखाले रु १०० अनुदान दिँदै आएको छ, जसमा पाँच हजार अनुदान प्राप्त गर्ने कृषकबाट रु ४०० र त्योभन्दा माथिको हकमा रु ८०० कट्टा गरी उक्त रकमबाट सुन्तलाका नयाँ बिरुवा रोप्न कृषकलाई प्रेरित गर्दै आएको छ । पुरानो सुन्तलाको बगैँचालाई व्यवस्थित गरी अधिकतम उत्पादन गर्नेतर्पm लाग्नुका साथै नयाँ स्थानमा बगैँचा निर्माण गर्न महाशाखाले जोड दिँदै आएको छ । रोगको कारण मरेका सुन्तलाको बगैँचामा कागती र जुनारजस्ता अम्लिय जातका बिरुवा लगाउन कृषकलाई अभियानले जोड दिएको हो । RSS