कालीगण्डकी डाइभर्सन नरोकिए सङ्घर्षमा उत्रिने : मुख्यमन्त्री नेपाली

असार १४, काठमाडौ- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको भावना विपरित कालीगण्डकी डाइभर्सन योजना शुरु गर्न लागेको भन्दै यसको विरोध गरेका छन । उनले यो योजना कुनै हालतमा पनि सफल हुन नदिने बताएका छन । विश्व हिन्दू महासङ्घसहित विभिन्न सङ्घसंस्थाका तर्फबाट आइतबार ध्यानाकर्षण पत्र बुझ्दै उनले केन्द्र सरकारसँग गरेको आग्रह पालना नभएमा र प्रदेशको आवाजको सुनुवाइ नभएमा सङ्घर्षमा उत्रन तयार रहेको बताएका हुन ।

उनले प्रदेशको भावनाविपरीत जाने प्रयास भएमा सम्पूर्ण नागरिकलाई उतारेर भए पनि योजना असफल गराउने वताए । प्राकृतिक स्रोतको बाँडफाँटलाई ख्यालै नगरी संविधान मिच्ने र सङ्घीयतालाई कमजोर बनाउने खेलका रूपमा यो कार्य रहेको उनको भनाइ थियो । उनले रुपन्देही र कपिलवस्तुको जमीन सिँचाइ गर्नका लागि राप्ती र तिनाउको पानी पर्याप्त रहेको समेत वताएका छन ।

डाइभर्सन आयोजनाका बारेमा साझा धारणा बनाएर अघि बढ्न प्रदेश सरकारले सोमबारका लागि सर्वपक्षीय बैठक डाकेको छ । राजनीतिक दल, जनप्रतिनिधि, उद्योगी व्यवसायी नागरिक समाजका अगुवालाई बैठकमा डाकिएको छ । कार्यक्रममा सरकारका प्रवक्ता तथा शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री कुमार खड्काले परियोजनाको लगानी र त्यसबाट हुनसक्ने लाभका बीचमा कुनै तालमेल नै नमिलेको बताए । प्रदेश सरकार यो योजनाका बारेमा प्रष्ट रहेको उल्लेख गर्दै उनले सांस्कृतिक, पर्यटकीय, आर्थिक र राजनीतिक महत्वसमेत बोकेको कालीगण्डकीमाथि अहिले बेमाइनीपूर्ण काम हुन लागेको बताए ।