प्रसान्त कुमार वि.क.
कठमाडौ- विश्वविद्यालयमा अंग्रेजी अध्ययन गर्ने क्रममा आर्ट स्पीगेलमेनको ग्राफिक नोभेल ‘माउस’ पढेको थिए जसमा कार्टुनको माध्यमबाट यहुदीहरुले सामाना गर्नुपरेको डरलाग्दो इतिहास लेखिएको छ । उपन्यासमा नाजीहरुलाई बिरालो र यहुदीहरुलाई मुसाका रुपमा उल्लेख गरिएको छ । उपन्यासको शुरुवातमा दश वा एघार वर्षको केटो आफ्ना साथीहरु सँग स्केटिङ दौड खेलिरहेको बेला लडन पुग्छ । त्यतिबेला उ साथीहरुलाई पर्खन भन्छ तर साथीहरु उसलाई सहयोग गर्नु त कहाँ हो कहाँ उल्टो कुहियको अण्डा भन्दै जिस्काउछन । केटो रुदै काम गरिरहेका आफ्नो बुवाको नजिक जान्छ र भन्छ म लडे, तर साथीहरु स्केटिङमा दौडीरहे । अनि बुवाले प्रश्न गर्छ, साथी ? तिम्रा साथीहरु ? यो प्रश्न सँगै कक्षा कोठाको दोस्रो बेन्चमा बसेको म भक्कानीएर रुन पुगे छु । मेरा साथीहरु मलाई के भयो भन्दै थिए । म बोल्नै सकिन । केटाको बाउको आसय थियो । तिमी लडेको बेला तिमीलाई सहयोग नगर्ने कसरी साथी हुन सक्छन । आज धेरै पछि सामाजिक सञ्जालमा मेरा साथीहरु को अभिव्यक्तिलाई देख्दा यस्तै महशुस भयो । धेरै पढेलेखेका मानीसहरुको बुद्विमा विर्को लागेको पाए । हामी विभेद गर्दैनउ । दलितको घरमा मैले पनि बसेर खाएको छु भन्नेहरुको अभिव्यक्ति पनि व्यक्तिगतरुपमा र सामाजिक रुपमा धेरै फरक देखियो ।
कुनै पनि परिवारमा परिवारका सदस्यहरु मध्ये जो कमजोर छ, उसलाई बुवा आमाले अलिबढि हेरचाह गर्ने गरेको पाईन्छ । छिमेकीहरु पनि उसकै बारेमा चिन्ता चासो लिईरहेका हुन्छन । यहि कुरा राज्यका सन्र्दभमा पनि लागूहुनु स्वभाविक हो । तर इतिहासलाई फर्केर हेर्न नसकिने इतिहास छ दलितहरुको । विभेदका दागहरुलाई हाम्रो समावेशीको अवधारणाले पनि निर्मूल गर्न सक्दैन । यदपी त्यसको क्षतिपूर्ति स्वरुप हामी विगत एक दशक भन्दा बढी समय देखि समावेशी लोकतन्त्रको अभ्यास गर्दै आएका छौ । देशको संविधानमा अक्षरस लेखिएको यो अधिकार हो दलितको । यसले देशलाई कमजोर बनाउँदैन । बरु यो देश मेरो पनि हो भन्ने भावनाको विकास गराउँछ । सयौंथुङ्गा फूलका हामी एउटै माला नेपाली भन्ने राष्ट्रिय गीतलाई सार्थक बनाउन मद्दत गर्दछ ।
अझ लामो समय विद्यालय वा विश्व विद्यालयमा अध्ययन गरी कुनै निश्चित तह उर्तीण गरेका र लोकसेवा आयोगले लिएको परीक्षा पनि उर्तीण गरेका आरक्षित समुदाय कसरी अयोग्य हुन सक्छ ? योग्यता भन्ने कुरा पाँच नम्बरको फरकमा मापन गर्ने होईन । व्यक्तिको इमान्दारीता, अनुशासन र नैतिकता पनि मापन गर्नुपर्दछ । मेरेटोक्रेसी भन्ने कुरा भ्रष्टाचार र शोषण गर्ने लाइसेन्स होइन । यो देशको चाहे कर्मचारीतन्त्र होस वा राजनीतिक नेतृत्व होस, भ्रष्टाचार गर्नेहरुको फेहरिस्त हेरयो भने दलित सायदै भेटिएला । त्यसका बावजुद समावेशीताको प्रसंग नकारात्मक रुपमा दलित समुदायका सन्र्दभमा मात्र उठाईएको पाईयो जुन ज्यादै दुखदायी छ । हरेक पटक जब दलित सँग सम्बन्धित कुनै घटना घट्दछ तब हामी विषयान्तर गर्दछौ र आरक्षण सँग जोड्दछौ । आरक्षण नहुँदैमा विभेद सकिन्छ भन्ने के ग्यारेण्टी छ ? पाँच हजार वर्ष देखि विभेद सहदै आएका छन दलितहरु । त्यतिवेला त कुनै आरक्षण थिएन । धेरै योग्य, मन्त्रपढन जान्ने, उडुसहरु बाटै विभेद हुँदै आएको छ । अनि हामी यहाँ मेरेटोक्रेसीको कुरा गर्दछौ । केही औंलामा गन्न मिल्ने सरहरु, अनि साथी भाई छन् जसले आफ्नो विवेकको प्रयोग गर्दछन र दलितलाई शोषण होइन, सहयोग गर्दछन, ग्राम्सीले भने जस्तै सचेत वर्ग ।
केही समय अगाडी प्रधानमन्त्री आफैले पौडिन नसक्नेहरु डुब्छन भनेर गरेको व्यङ्ग पनि थाहा छ । राजनैतिक नियूक्तिमा कस्ता–कस्ता मान्छेहरु के भए भन्ने पनि थाहा छ । व्यापारी देखि ट्राभल एजेन्सी चलाउनेहरुलाई देशको अन्तराष्र्टि«य सम्बन्ध कायम गर्ने निकाय सँग जोडियो । तिनको के योग्यता थियो ? अपराधीहरुलाई मन्त्री बनाईयो । राजनीतिका नाममा सुरक्षा निकायको मनोबल खस्काउने काम भएको पनि थाहाँ छ । भ्रष्टाचारमा नम्बर एक हुँदैछ । त्यसको हामी विरोध गर्दैनउ हामी । किनभने हामी योग्य भन्दा पनि कुनै न कुनै पार्टि सँग आवद्व छौ । मन परेको नेतालाई चाहे उसले जति गल्ती गरोस उसलाई सपोर्ट गर्ने योग्यता छ हामी सँग । हामी संसदमा एक जना इमान्दार महिला बोल्ने प्रयास गर्दा खिल्ली उडाँउछौ । अनि समाजिक सञ्जालमा गाली गलोजको वर्षा गर्दछौ, हाम्रो योग्यता यो नै हो ।