जेठ १५, काठमाडौँ – सरकारले तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मा बालसुधारगृह निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्ष ०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढकालटारमा बालसुधारगृह निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी गराए ।
ढकालटारमा बालगृह स्थापनाका लागि गत चैतमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले स्थलगत अनुगमन गरेका थिए । नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको जग्गामा मन्त्रालयले बालगृह स्थापना गर्न लागेको छ ।
ढकालटारमा प्राधिकरणको स्वामित्वको ५४ रोपनी जग्गा छ । त्यसमध्ये २८ रोपनी जग्गामा बालगृह निर्माण गरिनेछ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले आँबुखैरेनीमा बालसुधार गृह निर्माण गर्ने सरकारको निर्णयप्रति धन्यवाद ज्ञापन गरे ।