सङ्गीत साधक दियालीको जीवन : कष्टबाट शुरु, साधनाबाट मक्ख

जेठ १२, काठमाडौँ – ‘जातीय भेद्भाव कस्तो हुन्छ’ भनेर जान्न मन लागे इलामका सङ्गीत साधक राम दियालीलाई सोधे हुन्छ । दलित समुदायमै जन्मेका कारण कुनै बेला कस्ता सकस भोग्नु प¥यो दियालीलाई मात्र थाहा छ । कुरा २००६ सालको हो । अनेक विभेद्पूर्ण व्यवहार थिए त्यसबेला । समाजमा उच्च र निचको बहस चल्थ्यो । विभेद एक ठाउँमा केन्द्रित थिएन, जताजतै थियो ।

शिक्षित भनिने नै विभेदमा लाग्थे भने नपढेका र कथित तल्लो जातका व्यक्ति सिकार बन्थे । एक दिनको कुरा हो, इलाम नगरपालिकाका दलित समुदायका राम दियालीसहित पाँच बालक सहपाठीसहित अध्ययनका लागि इलामको आदर्श माध्यमिक विद्यालय ९हालको० पुगे ।

सदरमुकामको एक मात्र विद्यालयमा पढ्न पाउने धोको पूरा गर्न विद्यालय प्रवेश गरेका विद्यार्थीले कक्षामा पस्न भने पाएनन् । आफ्ना सहपाठी कक्षामा पढिरहेका थिए तर ती बालकलाई न कक्षामा बोलाइयो, न पढाउनलाई कुनै शिक्षक उहाँको नजिक आए ।

कक्षाकोठामा प्रवेश नपाएकामा कौतुहलता जागिरहेको थियो तर कारण पत्ता लागेन । एक दिन होइन, दुई दिन होइन, हरेक दिन त्यो व्यवहार दोहोरिरह्यो । “हामीलाई बाहिर किन राखियो थाहा भएन । धेरैदिन बाहिर राखेपछि घर गएर भन्यौँ”, दियालीले भने, “हिउँदको समयमा बाहिर बस्दाको पीडा कम भए पनि बर्खामा भने कष्टकर बन्दै गयो । खरले छाएको विद्यालय चुहिएर बाहिर बसेका विद्यार्थीलाई भिजाउन थाल्यो तर कक्षाकोठामा प्रवेश पाइएन ।”

परिवारलाई सुनाएपछि भने विद्यालय जानै बन्द भयो । विसं १९९५ मा इलाममै जन्मिएका दियालीको पारिवारिक आर्थिक स्थिति कमजोर थियो । पुख्र्यौली पेशाबाट आएको आनासुकीले परिवार पाल्न धौधौ हुन्थ्यो । परिवारमा विद्यालय शिक्षा अनिवार्य हो भन्ने छाप राम्रै परेको थियो । यसैको प्रभावले दियालीलाई विद्यालय पठाउने काम भयो । विद्यालयमा त्यो हदसम्मको हर्कत बेहोरे पनि दियालीलाई पढाउनका लागि अनेक विकल्प सोचियो । उनका बुबाले इलाम सदरमुकामकै एक घरमा पढ्ने वातावरण मिलाए । करिब छ महिना पढेपछि देशकै राजनीतिक व्यवस्था उल्टियो ।