कोरोना कहरका कारण बाँकेमा कोरोना संक्रमितको उपचारको लागि निजी स्तरबाट कोरोनाको सबैभन्दा बढी संक्रमितको उपचार गरिरहेको अस्पताल हो, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर । जिल्लाको एक मात्र सरकारी अस्पताल रुपमा रहेको भेरी पछि यहाँ उपचार हुने गरेको छ । भेरी र मेडिकल कलेजले तीन प्रदेशका बिरामीहरुको उपचार गरिरहेका छन् । यो कोभिड अस्पतालको रुपमा पनि रहेको छ । शुक्रबारबाट अस्पतालले कोरोना संक्रमितको निःशुल्क उपचार पनि गरिरहेको छ । स्थानीय तथा संघीय सरकारको सहयोग बिना नै अग्रणी रुपमा उपचार भइरहेको मेडिकल कलेज प्रशासनले जनाएको छ । यहाँ एक महिनामाको अवधीमा ५ सय ५० जनाको उपचार भइसकेको छ । ती मध्ये ३ सय १६ कोरोना संक्रमित निको भइसकेका छन् । ८४ जनाको उपचारको क्रममा मृत्यु भइसकेको छ । दुई जना कोरोना संक्रमितको डायलासिस, १४ जनाको जटिल अप्रेसन गरिएको छ । अहिलेसम्म प्रयोगशाला मार्फत ५ हजार ५ सय जनाको पीसीआर परिक्षण सम्पन्न भएको छ । अस्पतालमा हाल १ सय ३० वटा बेड रहेका छन् । अस्पतालमा अहिले १ सय ३० बेड रहेका छन् । ती मध्ये ४५ बेड आइसियू र ८५ जनरल बेड रहेका छन् । दोस्रो चरणको कोरोना महामारीको समयमा मेडिकल कलेजले गरिरहेको काम, समस्या चूनौती र कोरोना कहरका विषयमा केन्द्रीत रहेर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उप–निर्देशक तथा कोरोना फोकल पर्सन डाक्टर दिनेश श्रेष्ठसँग इमेल खबरले गरेको कुराकानीको सम्पादित अंश :
१.कोरोना कहर चलिरहेको छ, मेडिकल कलेजले कसरी काम गरिरहेको छ ?
पक्कै पनि कोरोना कहर चलिरहेको छ । हामी महामारी विरुद्ध विगत लामो समयदेखि डटेर लागिरहेका छौ । हाम्रो अस्पतालले कोरोना संक्रमण सुरु भएको केही दिन मै कोरोना अस्पतालको रुपमा व्यवस्थापन गरिसकेका थियौ । पहिले नै महत्वाकाक्षाका साथ सुरु गरो हौँ ।
हामीले कोभिड र ननकोभिडको समेत उपचार गर्नु पर्ने अवस्था थियो । अहिले हाम्रो तिर कोरोनाको जत्तिको महामारी छ,उत्तिकै मात्रामा अन्य विरामीहरु समेत उत्तिकै आउनुहुन्छ । यो तीन प्रदेशको मुख्य अस्पताल नै हो । अनय विरामीहरुको उपचार गर्ने । त्यसो भएर उपचारको लागि आउने सम्पूर्ण विरामीहरुको उपचार हामीले गर्नुपर्नेहुन्छ । त्यसैले सबैको उच्च मनोबलका साथ उपचार गरिरहेको हो । हाम्रो दुई वटा अस्पताल छ, एउटामा कोभिड र अर्को अस्पतालमा नन कोभिडको उपचारको व्यवस्था मिलाइएको छ । ५ सय ५ बेडको मेडिकल कलेजमा साढे दुई सय देखि ३ सय सम्म उपचार गर्न सकिन्छ भन्ने उद्देश्य राखेका थियौ ।
यति नै बेला कोरोना संक्रमितको यति चाप बढ्दो की हामीले हाम्रो मौजुदा स्रोत र साधनले धान्न नै नसक्ने अवस्था सिर्जना भइदियो । हाम्रोमा अक्सिजनको चरम अभाव भयो । यतिसम्म की खुम्चिएर १ सय ५० बेडमा झर्नु पर्ने अवस्थाको सिर्जना भयो । लिक्विड अक्सिजन ल्याउन पनि समस्या भोग्यौ हामीले । कोरोनाको समयमा अग्रणी भूमिका निर्वाह गर्दा समेत सोचे अनुसारको सेवा दिनमा परिस्थितिले साथ दिएन । अहिले भने केही मात्रामा अक्सिजन आपूर्ति सहज हुन लागेको छ ।
अक्सिजन प्राप्त भएपनि माग धेरै भएकोले धान्न समस्या छ । भने जाँच धेरै छ । गम्भीर प्रकृतिका बिरामी आउने भएकोले अक्सिजन बढी खपत भइरहेको छ । अहिले जति आइरहेका छन्, सबै सिरियस नै छन् । त्यस्ता बिरामी ९५ प्रतिशत रहेका छन् । हामीले वार्ड भन्दा पनि आइसियूको सुविधा बढाउनुपर्छ भनेर २८ बेडबाट बढाएर ४५ बेड बनाएका छौँ । अहिलेको अवस्थासम्म १ सय ३० बेड कोरोना संक्रमित उपचारको लागि तयारी अवस्थामा छ ।
२.अहिलेपनि कोरोनाका कहरसँगै जुँधिरहेको अवस्था छ, पछिल्लो एक महिनामा मेडिकल कलेजले सिकेको पाठ, भोगेको समस्या र चूनौतीका विषयमा पनि अवगत गराइदिनुन ?
यो अवधिमा हामीले भोगेको सबैभन्दा ठूलो समस्या भनेको अक्सिजनको अभाव हो । यतिसम्मकी अक्सिजनको अभावका कारण विरामीहरुको भर्ना नै लिन नसकिने अवस्था भयो । केही दिन हामीले बिरामीहरुको भर्ना नै लिन सकेनौँ । यो निकै दुःखदायी क्षण हो ।
अक्सिजनको अभाव नभइदिएको भए अहिलेसम्म अझै बढी कोरोना बेड सञ्चालन हामीले गर्ने थियौँ । जति टिम छ, हाम्रोमा कोभिडमा जाने, उहाँहरुले अहिले पनि बिना तलब काम गरिरहनु भएको छ । सरकारी अस्पतालमा भने ड्युटी गरे बापत अतिरिक्त भर्ना हुन्छ ।
हाम्रोमा त्यस्तो सुविधा दिन हामीले सकेका छैनौ । यो बीच हामीले स्टार्फहरुलाई समेत मोटिभेट गर्न नसकेको अवस्था पनि देखियो । हाम्रोमा सुक्का तलब छ । त्यो पनि विगत तीन महिनादेखि तलब नै पाएका छैनन्, स्वास्थ्यकर्मीहरुले । फागुनसम्म पाएका छैनौ । अब तपाईं नै आफै भन्नुहोस यी दुई समस्या नै काफी छन् । यो भन्दैमा हामी आफ्नो जिम्मेवारीबाट कदापी पछि हटेका छैनौ । तलब भन्ने कुरा आज नभए भोली होला ।
तर अहिलेको महामारीमा देश नै संकटमा आफ्नो तलब भन्दा पनि सेवा भावले खटिरहेको अवस्था छ । सरकारी अस्पताल भइदिएको भए, भत्ता हुन्थ्यो होला । तर हामीलाई केही पनि सरकारी सुविधा हुँदैन । यस्तो अवस्थामा कर्मचारीहरुको जति तारिफ गरेपनि कमी नै हुन्छ ।
३.अहिलेको फैलिरहेको संक्रमण दर र मृत्युदर हेर्दा यस्तो अवस्था अहिलेसम्म रहला के भन्नुहुन्छ ?
अहिलेको अवस्था हेर्नुहुन्छ भने हाम्रोमा १ सय ३० बेड रहेको छ । ४५ बेड आइसियू रहेको छ । ती मध्ये १० बेड अझै खाली अवस्थामा रहेको छ । वार्डमा पनि १० वटा सम्म खाली रहेको छ । यो विस्तारै खाली हुँदै गएको देखिन्छ । यो हाम्रो लागि सुखद् समाचार र सन्देश हो ।
यसले संक्रमदर कम रहेको देखाउँछ । उदाहरणका लागि शुक्रबार ७५ जना गरिएको पीसीआर परिक्षणमा १५ जना मात्रै पोजेटिभ देखिए । पछिल्लो केहीदिनयता बिरामी हुने दर पनि कम हुँदै गइरहेको छ ।
अहिले बिरामीको लोड पनि घट्दो क्रममा रहेको छ । यही अवस्था रहे अबको दुई हप्तामा कोभिडलाई सानो वार्डमा झार्नुपर्ने अवस्था हुन सक्छ ।
४.कोरोना संक्रमितको निःशुल्क उपचार पनि शुरु भएको छ, यसको विषयमा स्पष्ट पारिदिनुहोस न ?
यसको विषयमा हामी सबै के कुरामा स्पष्ट हुन जरुरी छ भने, शुरुमा सरकारले हामीले कोही बिरामी विपन्न छन् भने वा उसले उपचार गर्न सक्ने अवस्था नभएको खण्डमा निःशुल्क उपचार गर्नको लागि परिपत्र गरेको थियो । त्यसको लागि उहाँहरुले सम्बन्धित पालिकाबाट सिफारिस र आफूले स्व घोषणा गर्नुपर्ने हुन्थ्यो । उसले नेपाल सरकारको नामा चिठि लेख्नु पर्दथ्यो ।
सरकारको नीति अनुदार साढे तीन हजार, सात हजार र १५ हजार लिन निर्देशन दिएको थियो । हामीलाई सरकारले त्यसमा पनि ५० प्रतिशत थपेर दिएर सेवा दिन सक्ने भनेको थियो । हाम्रो अस्पताल निजी भएकोले त्यस्तो सुविधा सरकारले दिएको हो । तर हामीले थपेनौँ । राज्यले तोकेकै मूल्यमा सेवा दिइरहेका थियौ । अहिले चाँही सरकारसँग सम्झौता गरेर सुचिकृत अस्पतालले निःशुल्क उपचार गर्ने ।
सरकारले त्यस्तो भनेपछि हामीले पहल गयौँ । सरकारले पनि हामीलाई सुचिकृत गर्यो । त्यसैले अस्पतालले अब कोरोना संक्रमितको लागि निःशुल्क सेवा शुरु गरेको छ । शुक्रबारबाट नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा आइसियू र वार्ड जहाँ भर्ना भएपनि कोरोना संक्रमितको निःशुल्क उपचार हुनेछ ।
५. अर्कातिर बाँकेमा मृत्युदर पनि निकै बढी भएको देखिन्छ, यसको कारण के हो, जनशक्ति अभाव होकी स्रोत साधनको ?
यसको समिक्षा गर्दा मलाई के लागेको छ भने, यो जुन हामीले घरघरमा आइसोलेसन बनाउने राख्ने भन्यौँ । यसले गर्दा बिरामीले कोरोना भनेको अक्सिजनको कमी भएर हुने रहेछ । अक्सिजनको सिलिन्डर जहाँबाट भएपनि जोहो गरेर राख्यो भने बचिने रैछ । अस्पतालमा जानै नपर्ने रैछ भन्ने गलत प्यासेज गयो । स्थानीय तहले समेत त्यही कुरालाई प्रमुखताका साथ अबलम्बन गरे ।
एउटा बेड र अक्सिजन सिलिन्डर भयो भने आइसोलेसन सेन्टर भनियो । यसले आम रुपमा व्यापक भर्म सिर्जना भयो । एकान्तमा बस्ने र अक्सिजनको लिसिन्डर भयो भने, कोरोना जितिन्छ भन्ने छाप बस्यो । जुन सरासर गलत कुरा हो । कसैले अहिले पनि यस्तो काम गरेको छ भने त्यो अत्यन्त भ्रामक र गलत कुरा हो । अहिले अस्पतालमा जति पनि कोरोनाका केश आउँछन् ।
ती सबै होम आइसोलेसनमा ७ देखि ९ दिन बसेका छन् । जुन कोरोनाको सबै भन्दा बढी प्रभावित हुने अवस्था हो । समय निकै घर्कीसकेपनि अस्पताल ल्याउने गरिन्छ । जुन अवस्थामा डाक्टरले उनीहरुलाई चाहेर पनि बचाउन सक्दैन । अहिले सरकारले प्रति पेसेन्ट दुई सय रुपमा दिने भनेको छ । यो सह्रानीय काम हो । होम आइसोलेसनमा बस्ने मानिसको चाहना सकभर अस्पताल जान नपरोस भन्ने हुन्छ । स्थानीय तहको सोच जति होम
आइसोलेसनमा जति बिरामी बढे त्यति नै फाइदा हुने देखेर नै यस्तो काम गरे । होम आइसोलेसन प्रभावकारी देखिएन । डाक्टरसँग सम्पर्क अभाव भयो । होम आइसोलेसनमा बसेपनि जो सम्पर्कमा रहे स्वास्थ्यकर्मीको उनीहरु सुरक्षित नै रहे । अर्कातिर यो अवस्थामा हामीले धेरै समस्या भोग्यौ ।
तर सरकार र स्थानीय सरकारले हामीलाई सहयोग नै गरेनन् । समस्याका बाबजुत पनि हामीले काम गरिरहयौ । अहिले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने बेलासम्म आइपुगेका छौँ ।
६. अन्त्यमा सम्पूर्णलाई कोरोनाबाट बच्नको लागि के भन्न चाहनुहुन्छ ?
यसमा विश्वव्यापी रुपमा देखिएको भनेको त्यही हो, मास्क अनिवार्य लगाउने । भीडभाड नगर्ने ।
सक्नुहुन्छ भने घरबाट ननिस्कनुहोस । घरमा पनि स्वास्थ्य मापदण्ड पुरा गर्ने । घर मे बस्दा पनि मास्क लगाउने । नुनिलो, पिरो लगायतका खानेकुरा खाने । अनावश्यक सम्पर्कबाट टाढै रहने ।
साबुन पानीले हाम धुने । हामीले पनि सचेतनाका बढाररहेका छौ । स्थानीय सरकारले र सरकारले पनि सचेत रहन आग्रह गरेको छ । आफू बचौँ र अरुलाई बचायौँ ।