जेठ ४, काठमाडौँ – कोरोना सङ्क्रमितको उपचारलाई सहज बनाउन लुम्बिनी प्रदेशमा अक्सिजनको आपूर्ति श्यैया थप गर्ने कार्यलाई प्राथमिकता दिइएको छ ।
अक्सिजन र श्यैया को अभावमा उपचार सेवा प्रभावित भएपछि यी काम अघि बढाइएको हो । भैरहवास्थित भीम अस्पतालको नवनिर्मित आकस्मिक कक्षमा लिफ्ट सहित १५ वटा श्यैया सञ्चालनमा ल्याइएको छ ।
लीलाराम कुन्तिदेवी न्यौपाने प्रतिष्ठानको सहयोगमा निर्मित लीलाराम न्यौपाने आकस्मिक कक्षमा तीन वटा आइसियुसहित १५ वटा श्यैया सञ्चालनमा ल्याइएको हो । हाल जडित तीन वटा आइसियु वेड मध्ये २ वटामा जर्मन टेक्नोलोजीको भेन्टिलेटर, र १२ वटा वेड एचडियु अक्सिजन पाइपलाइन र मोनिटर सहितको रहेको प्रतिष्ठानका सचिव विष्णु न्यौपानेले जानकारी दिए । दुई तले अत्याधुनिक भवन स्वास्थ्य मन्त्रलायको मापदण्ड अनुसार निर्माण गरिएको छ ।
यसैबिच रुपन्देहीमा कोरोना सङ्क्रमण हुनेको भन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढ्दो छ । रुपन्देहीमा पछिल्लो २४ घण्टामा तीन सय ६१ जना कोरोना सङ्क्रमित थपिँदा सात ७८ जना सङ्क्रमणमुक्त भएका छन् ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीका विभिन्न प्रयोगशालामा आठ सय ८८ पिसिआर परीक्षण गर्दा तीन सय ६१ जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन परीक्षण तर्फ दुई हजार चार सय ५० जनाको परीक्षण गर्दा नौ सय ९० जनामा रिपोर्ट पोजेटिभ देखिएको छ । जिल्लामा थप पाँच ५ जनाको मृत्यु भएको छ ।