– पूर्णप्रसाद मिश्र
जेठ ३ , काठमाडौँ – कुनै पनि सेवाको शुल्क तिरेपछि ग्राहकले बिल पाउनुपर्ने कानूनी व्यवस्था छ तर, सरकारी कार्यालयमै बिल पाउन मुस्किल हुन थालेको छ । कोभिड–१९ बाट बच्न जारी निषेधाज्ञाका बेला अत्यावश्यक सेवामा पर्ने दूर सञ्चार प्रदायक नेपाल टेलिकमको इन्द्रायणी शाखामा प्रिन्टरले बिल प्रिन्ट गर्दैन । राजधानीको उत्तरपूर्वी भेगमा रहेको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ को यो शाखामा टेलिफोन, एडिएसएलको पैसा तिर्न आउने ग्राहकले प्रिन्टर बिग्रिएकै कारण बिल पाउन नसकेका हुन् । यो समस्या आएको वर्षौ हुँदासमेत समाधान हुन सकेको छैन ।
शङ्खरापुर नगरपालिका वडा नं ९ खुलालटारका बलराम थापा गत वर्ष पनि बन्दाबन्दीका बेला टेलिफोन र एडिएसएलको पैसा तिर्न आउँदा प्रिन्टर बिग्रिएर बिल नपाएको स्मरण गर्नुहुन्छ । त्यही प्रिन्टर बिग्रिएका कारण थापाले आइतबार पनि टेलिफोन र एडिएसएलको पैसा तिरेको बिल पाएनन्। टेलिकमको इन्द्रायणी कार्यालयमा धेरैजसो समय पैसा तिर्न आउँदा बिल पाउन नसकिएको उनले सुनाए । काउन्टरमा कार्यरत सुनिता बाँस्कोटा पोखरेल बिल प्रिन्ट गर्न खोज्दा भित्रै जाम भएको बताए। यस्तो पहिलोपटक भएको उनलेको दावी छ ।
नजिक पर्ने कार्यालय भएकाले गोकर्णेश्वर नगरपालिका वडा नं २ बाट पोष्टपेड मोबाइल फोनको शुल्क तिर्न गएका विश्वनाथ बास्कोटाले पनि प्रिन्टर बिग्रिएकै कारण बिल पाउन सकेनन् । बिल लिनकै लागि करिब एक घण्टा कुरे पनि प्रिन्ट हुने छाँटकाँट नदेखेपछि कार्यालयबाट हिँडेको उनले बताए। कर्मचारीले बिल लिनकै लागि अर्को दिन बोलाएको पनि बाँस्कोटाले सुनाए ।
कार्यालयका सहायक लेखा अधिकृत भक्तबहादुर विष्ट टेलिकमको क्षेत्रीय निर्देशनालय सुन्धाराबाट आएको प्रिन्टर, कम्प्युटरलगायत उपकरणले राम्रोसँग काम नगर्दा सेवा प्रवाहमा अप्ठ्यारो भएको स्वीकारे। “गुणस्तरहीन सामान आएकाले काममा असहज भएको हाम्रो अनुभव छ” – उनले भने ।
टेलिफोन र इन्टरनेटको तार जोड्न प्रयोग हुने ‘यु आई कनेक्टर’ कम गुणस्तरको आउँदा टेलिकमको सेवाले अन्य निजी कम्पनीसँग प्रतिष्पर्धा गर्न नसकेको कर्मचारीकै स्वीकारोक्ति छ । काठमाडौँ उपत्यकामा रहेका टेलिकमका शाखामा आवश्यक धेरैजसो यन्त्र प्रादेशिक निर्देशनालय सुन्धाराले उपलब्ध गराउने गर्छ ।
टेलिकमका प्रवक्ता राजेश जोशी साना कार्यालयमा कम यन्त्र हुने भएकाले बिग्रिएका बेला ग्राहकले बिल पाउन नसकेको बताए । यन्त्र छिटो मर्मत गरेर सेवा दिने प्रतिबद्धता उनले जनाए।‘टेलिकमका सेवामा समस्या
टेलिकमले राखेका तार धेरै वर्ष पुराना भएकाले ल्याण्डलाइन टेलिफोन र इन्टरनेट सेवा गुणस्तरीय छैन । कतिपय ग्राहकले मूलतारबाट जोडेर लगेको तारसमेत पुरानो भएपछि गुणस्तरीय सेवा पाउन सकेका छैनन् ।
इन्द्रायणी शाखा कार्यालयको क्षेत्र शङ्खरापुर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं १ देखि ७ सम्म तोकिएको छ । यो क्षेत्रमा दुई हजार ६१९ लाइन ल्याण्डलाइन टेलिफोन छन् । एडिएसएल सेवा लिने ग्राहकको भने कार्यालयसँग तथ्याङ्क नै नभएको प्रशासन शाखा प्रमुख पुष्पराज अधिकारीले बताए। वैशाख महिनामा भने करिब १५० ग्राहकले एडिएसएल सेवा जोडेका छन् । गुणस्तर कमजोर भएकाले एकपटक एडिएसएल सेवा लिएका ग्राहक फेरि नवीकरण गर्न नआउने गरेकाले वास्तविक तथ्याङ्क दिन नसकिएको उनले स्वीकारे।
शाखा कार्यालयको नजिकै निवास भएका रञ्जन पुडासैनी टेलिफोन र एडिएसएल बिग्रिएकाले बनाउने अनुरोध गर्न निषेधाज्ञा तोड्दै आउन बाध्य हुनुपरेको गुनासो गरे। स्नातक तहको कक्षा अनलाइनबाट नै पढिरहेकापुडासैनी पटकपटक एडिएसएल नेटले धोका दिँदा समस्या भएको गुनासो गरे।
एफटिटिएच सेवामा ढिलाइ
‘फाइबर टु दि होम’ अर्थात् एफटिटिएच सेवा दिन शाखा कार्यालयले दुई वर्षदेखि छावनी शाखामा ताकेता गर्दै आए पनि अझैसम्म सफलता पाएको छैन । पहिलो चरणमा साँखुस्थित इलाका प्रशासन कार्यालय, मालपोत, नापी, बैङ्कजस्ता कार्यालय रहेको क्षेत्रबाट एफटिटिएच सेवा शुरु गर्न लागेपनि गत वर्षको बन्दाबन्दी र यस वर्षको निषेधाज्ञाले प्रभावित बनाएको कार्यालय प्रमुख पञ्चकुमार साहुको भनाइ छ ।
तार खरिद सहज नभएकाले एफटिटिएच सेवा विस्तार गर्न समस्या भएको हो । सरकारी कम्पनीमा खरिद प्रक्रिया लामो हुने गरेकाले पनि निजी क्षेत्रका दूर सञ्चार प्रदायक कम्पनीसँग प्रतिष्पर्धामा तार लिएर काम गर्न नसकिएको कार्यालयका कर्मचारीको गुनासो छ ।
काठमाडौँ उपत्यकामा वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयमार्फत् तीन आर्थिक वर्षमा एफटिटिएच सेवा जडान गरिसक्ने लक्ष्यका साथ आर्थिक वर्ष २०७६÷७७ देखि काम शुरु भएको थियो । पैंतीस वर्ष लगाएर जडान गरेको तामाको तारको नेटवर्कलाई तीन वर्षमा फाइबरले विस्थापित गर्न कार्यक्रम शुरु गरिएको दुई वर्ष बित्न लागे पनि बन्दाबन्दी र निषेधाज्ञाले काममा ढिलाइ भएको जनाइएको छ ।
हालसम्म देशभर डेढ लाख एफटिटिएच सेवा वितरण भएको छ । करिब दुई लाख ५० हजारको सङ्ख्यामा वितरणका लागि तयारी अवस्थामा रहेको बताइन्छ । तार, बक्सलगायत १५ देखि २० प्रकारका उपकरण एफटिटिएच सेवा विस्तारमा प्रयोग हुन्छ । गत वर्ष छ महिना बन्दाबन्दी भएकाले ती सामान आयात गर्न सकिएन । यस वर्ष पनि एक महिनाअघिदेखि निषेधाज्ञा लागेकाले काममा ढिलाइ हुने देखिएको छ ।
टेलिकमका प्रवक्ता जोशी गत वर्ष कोरोनाबाट बच्न बन्दाबन्दी गर्नुपरेकाले एफटिटिएच सेवा विस्तारमा ढिलाइ भएको बताए । “बन्दाबन्दी सकिएपछि कामले तीव्रता पाएका बेला फेरि कोरोनाको दोस्रो लहर तीव्र रुपमा फैलिएर केही समस्या भएको हो” उनले भने ।रासस