वैशाख १७, काठमाडौँ – म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङमा वडा कार्यालय भवन निर्माण भएको छ । धवलागिरि गाउँपालिकाले उपभोक्ता समितिमार्फत दुईतले भवन निर्माण गरेको हो । आर्थिक वर्ष २०७४र७५ मा शुरु भएको भवन निर्माण चालु आर्थिक वर्षमा सकिएको छ ।
बहुउद्देश्यीय सभाहलसहितको भवन निर्माणको काम सकिएपछि वडा कार्यालय सञ्चालन गरिएको वडाध्यक्ष खर्ककुमारी छन्त्यालले बताउनुभयो । कूल रु ६९ लाखको लागतमा कार्यालय भवन निर्माण भएको उनले बताए । आव २०७४/७५ मा रु १९ लाख, २०७६/७७ मा रु १९ लाख ५० हजार र २०७७/७८ मा रु २८ लाख ५० हजार विनियोजन भएको थियो । भवनको माथिल्लो तलामा कार्यालय, पदाधिकारी, सचिवको कार्यकक्ष र वडासचिवको आवास बनाइएको छ ।
पक्की भवनको भुइँ तलामा १५० जना क्षमताको सभाहल छ । यसअघि मल्कवाङमा वडाको आफ्नै भवन थिएन । युवा क्लबको साँघुरो भवनबाट कार्यालय सञ्चालन गरिएको थियो । भवन अभावमा कार्यालयको सेवा प्रवाह प्रभावित भएको थियो । भेला, बैठक, सभा, सम्मेलन, तालिम, गोष्ठी सञ्चालन गर्न समस्या भएको थियो । सातवटा वडा रहेको धवलागिरिमा आफ्नै नयाँ कार्यालय भवन बनाउने मल्कवाङ पहिलो बनेको छ ।
गाउँपालिकाले लमसुङमा २ नं र ताकमको ७ नं वडाको कार्यालय भवन निर्माण गरिरहेको छ । साविक मुना गाविसको भवनमा गाउँपालिले कार्यालय राखेपछि वडा नं ३ पुरानो कच्ची भवनको एउटा कोठाबाट सञ्चालन भएको छ । वडा नं १ गुर्जा र वडा नं ४ मुदीको पनि आफ्नै भवन छैन । वडा नं ६ को कार्यालय सञ्चालन भएको कुम्रीस्थित प्रगति आमा समूहको भवन गत असारमा पहिराले बगाएको थियो । सङ्घीयताको कार्यान्वयन र स्थानीय तह स्थापना भएपछि म्याग्दीमा तीनवटा नयाँ वडा कार्यालय निर्माण भएका छन् ।
तत्कालीन जिविसले शुरु गरेको अन्नपूर्ण गाउँपालिकाको वडा नं ६ घार र वडा नं ५ को कार्यालय गाउँपालिकाले पूर्णता दिएको छ । बुकेनीमा मङ्गला गाउँपालिकाले वडा नं ४ को भवन निर्माण गरेको छ । मालिका गाउँपालिकाले डाँडागाउँमा वडा नं ३ को कार्यालय भवन निर्माण शुरु गरेको छ । बेनी नगरपालिकाले सामुदायिक चोकमा वडा कार्यालय निर्माणकार्य अन्तिम चरणमा पु¥याएको छ । अर्थुङ्गेमा बेनपाको वडा नं ६ को कार्यालय निर्माणाधीन छ । यसैगरी क्याम्पसकचोकमा वडा नं ८ को कार्यालय सञ्चालन र बाढी व्यवस्थापन गर्ने उद्देश्यले घर, जग्गा अधिग्रहण भएको छ ।