मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी

बैशाख २, काठमाडौं – गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार समस्यामा परेको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा, जसपालगायत दलहरुले तत्कालै मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव लैजाने तयारी गरेका छन् ।

मुख्यमन्त्री गुरुङलाई हटाएर नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न माओवादी केन्द्र सहमत भइसकेका छन् । आफू नेतृत्वको सरकार टिकाउन मुख्यमन्त्री गुरुङलाई तीन सांसदको मात्रै समर्थन भए पुग्ने भए पनि जनमोर्चाले साथ नदिँदा उनी समस्यामा छन्

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसले संसदीय दलका नेत कृष्णचन्द्र नेपालीलाई अघि सारेको छ । गण्डकी प्रदेशमा नेकपा एमालेसँग २८ सांसद रहेका छन् । नयाँ गठबन्धनसँग ३२ सांसद रहेका छन् ।

सम्भव भए आज नै र आज सम्भव नभए भोलिसम्ममा अविश्वास प्रस्ताव पेस गर्ने दलहरुको तयारी छ।