डा.दामोदर रेग्मी
चैत ३१, काठमाडौं – सरकारी सेवा प्रवाहको मूल अंगको रुपमा रहेको प्रशासन विज्ञ, व्यवसायिक, क्षमतावान व्यक्तिहरुको समुह तथा राज्यको स्थायी संयन्त्र हो। यसै कारणले सरकारी नीति निर्माण कार्यान्वयनमा प्रशासनिक संयन्त्रको महत्वपुर्ण भूमिका रहेको हुन्छ। प्रशासकीय सक्रियताको सन्दर्भलाई पनि यसै परिवर्तनमा हेर्न सकिन्छ। प्रशासन निर्वाचित सरकार (राजनीति) र सेवाग्राही (जनता) वीचको सम्बन्ध सेतु हो। यसर्थ प्रशासनिक संयन्त्र जति प्रभावकारी हुन्छ त्यत्तिनै सरकार त जनतावीचको सम्बन्ध असल हुने गर्दछ र यहि असल सम्बन्धलेनै सरकारको दिगोपना को सुनिश्चितता गर्ने गर्दछ।
यसै कारणले नै कुनै पनि देशको सरकार त्यहाको प्रशासन यन्त्रको राम्रो हुन सक्दैन भन्ने गरिएको हो। प्रशासन यन्त्रको सकारात्मक पूर्व सक्रियता ले एकातर्फ राजनीतिज्ञले आफुले परिकल्पना गरेको दीर्घकालीन सोचलाई नीतिनियम र प्रक्रियाका आवद्ध गराएर जनताले अनुभूति गर्ने गरी कार्यान्वयन गर्न सक्छन भने कार्यान्वयनको क्रममा जन अपेक्षाको सम्बोधन भयो भएन र त्यसमा के कस्ता सुधारको आवश्यकता छ भन्ने कुराको पृष्ठ पोषण प्राप्त भै त्यसलाई आगामी दिनको कार्ययोजनामा परिमार्जन वा समाहित गर्न सकिन्छ। सकारात्मकता सहितको निष्पक्ष र सक्रिय प्रशासनिक संयन्त्र असल शासकीय प्रणालीको सम्वाहक हो ।
प्रशासन र कर्मचारीतन्त्र राज्य संयन्त्रको त्यस्तो महत्वपुर्ण अंग हो जो प्रतिस्पर्धात्मक तवरबाट छानिएर आएका हुन्छन। उनीहरुको कार्य शर्त, कार्य अवधि र सेवाका अन्य शर्तहरू सम्बन्धित कानुनवाट निर्देशित हुने गर्दछ। प्रशासनयन्त्रमा निश्चित पद सोपानमा आधारित नियन्त्रण र आदेशको श्रृङ्खला, नियममा आधारित निष्पक्ष कार्यशैली, विज्ञतामा आधारित जनशक्ति र संगठनात्मक संरचना , व्यवसायिकता र उत्पादकत्व ः उत्तरदायित्व र वृत्तिविकासको मानक जस्ता विशेषताहरु रहेका हुन्छन् ।
राज्य संचालनमा प्रशासन जसलाई स्थायी सरकार वा छानिएका पदाधिकारी भनिन्छ र राजनीतिज्ञ जसलाई निर्वाचित पदाधिकारी भनिन्छ, यी दुवै, सरकारी संरचनाका महत्वपुर्ण अंगहरू हुन। प्रशासन स्थायी संरचना र विज्ञताले युक्त अंग भएपनि आवधिक रुपमा निर्वाचित भएर आउने राजनीतिक नेतृत्वको मातहतमा रहेर प्रशासनयन्त्रले काम गर्ने गर्दछ। त्यसैले प्रशासनले विभिन्न चरणमा भिन्न भिन्न राजनैतिक समूह संग रहेर काम गर्नुपर्ने हुन्छ। प्रशासनको राजनीतिकरण भन्ने सन्दर्भले प्रशासन कुनै राजनीतिक दल बिषेषको वाद वाट आकर्षित हुने भन्दापनि सरकारमा भएको परिवर्तन वाट प्रभावित नभै सरकारी नीतिको कार्यान्वयनमा आफ्नो विज्ञता र दक्षताको प्रयोगमा विचलित हुनु नहुने मान्यता राख्दछ । यसले राजनैतिक रुपमा तटस्थ र सरकारी नीति कार्यक्रमको कार्यान्वयन प्रति प्रतिवद्ध रहनु पर्दछ भन्ने मान्यताको अवधारणामा जोड दिन्छ । प्रशासनको राजनीतिकरण शव्दावलीले अमूक दलको सरकार बन्दा क्षमताको प्रदर्शन गर्ने र अर्को अमूक दलको सरकार वन्दा निस्क्रियता प्रदर्शन गर्ने परिपाटीको परिकल्पना गदैन ।
कानूनी प्रक्रियाको पूर्ण अवलम्बन गर्ने तर कागजी प्रक्रिया, समय र लागतमा सकभर कमी ल्याई उत्पादकत्व अभिवृध्दि गर्ने प्रशासन यन्त्र यस सन्दर्भमा सामयिक आवश्यकता हो । जुनसुकै राजनैतिक परिपाटीमा पनि निश्पक्ष, स्वतन्त्र र व्यवसायिक भएर निर्वाचित सरकारको मनोभावनालाई परिणाममा बदल्न सक्ने प्रशासन वनाउनु नै यथार्थमा प्रशासनमा राजनीतिकरण हो । यसको लागि राजनैतिक दूरदर्शिता, नेतृत्व कौशलता र परिणाममुखी राजनैतिक नेतृत्वको आवश्यकता हुन्छ । यो विषय संगै आउने अर्को शब्दावली राजनीतिको प्रशासनिकरण पनि हो। यी दुई शब्दावलीले राजनीति र प्रशासन सीमारेखा को आवधारणा अनुरुप दुवै पक्ष आ आफ्नो कार्यक्षेत्र संग सम्बन्धित विषयमा केन्द्रित रहनुपर्दछ र एक अर्काले अर्काको मूल कार्यक्षेत्रमा हस्तक्षेप नगर्ने तर कार्यान्वयन तहमा एक अर्काको निरन्तर सहयोगको अपेक्षा राख्दछन । तसर्थ राजनीतिज्ञ वा सरकारमा प्रतिनिधित्व गर्ने दल वा प्रतिनिधित्व गर्ने दल विशेष वा पदाधिकारीहरुले प्रशासनयन्त्रको सीमा बुझिदिनु पर्ने हुन्छ र कर्मचारीहरु एउटा निश्चित कानूनी सीमा रेखा वाट बांधिएका हुन्छन्, उनीहरुको सेवा शर्त कानूनवाट निर्देशित भएको हुन्छ र उनीहरुले आफ्नो प्रशासकीय र संस्थागत उत्तरदायित्व मार्फत जनउत्तरदायित्व निर्वाह गरिरहेका हुन्छन् भन्ने बुझिदिनु पर्ने हुन्छ ।
प्रशासन र राजनीति शासकीय प्रणालीका अभिन्न र परिपूरक अंगहरु हुन् । राजनीति सधै भविष्यद्रष्टा, महत्वाकांक्षी, शीघ्र परिणाम खोज्न, जोखिम लिने र परिणामको उपलब्धतावाट सरकारको लोकप्रियता खोज्ने र यसै आधारमा सरकार वा आफ्नो दल विशेषको दिगोपना कायम राख्ने चाहना वाट अभिप्रेरित भएको हुन्छ । तर राजनीतिज्ञको यो चाहना परिपूर्ति राजनीतिज्ञले आफै गर्न सक्दैन यसमा कानूनी र प्रक्रियागत प्रयोगको अधिकारको हैसियतले प्रशासनयन्त्रको निरन्तर सहयोगको आवश्यकता पर्दछ । प्रशासन यन्त्र विज्ञ, दक्ष, विषयको ज्ञान, कुनै कामको सकारात्मक र नकारात्मक अन्तरसम्बन्धसंग परिचित हुन्छन् । राजनीतिज्ञले भविष्यको अमूर्त चित्रको परिकल्पना गर्दछ प्रशासनयन्त्रले त्यसलाई मूर्तता दिने गर्दछ ।
राजनीतिज्ञ वसका चालक हुन् भने प्रशासनयन्त्र वसका इन्जिन हुन् । चालकले चालकको भूमिका सही रुपमा सम्पादन गर्ने र इन्जिन सधै चलायमान रहने हो भने यात्रा सदा सुखद र सुरक्षित रहन्छ । यदि यी दुवैले या त आफ्नो भूमिका सही रुपमा सम्पादन गरेनन् वा आफ्नो स्थान परिवर्तन गरे भने यात्रा असहज वन्न सक्दछ वा दुर्घटनाको सामना गनु पर्ने हुन्छ । यसर्थ यी दुवै वीच कायम लक्ष्मणरेखाको मर्यादा भित्र रही सहयोगी र परिपूरक अंगको रुपमा रहनु आवश्यक छ ।
नीति निर्माण राजनीतिक नेतृत्वको मूल कार्यक्षेत्र हो। तर राजनीतिक नेतृत्वसंग जनताका ईच्छा, आकांक्षा,चाहनाका सन्दर्भमा परिवर्तनको एउटा स्पष्ट लक्ष्य रहेको हुन्छ तर त्यो ईच्छा, आकांक्षा,चाहनालाई कानूनी र प्रशासनिक प्रक्रियाको माध्यमवाट नीति दस्तावेजमा प्रतिविम्वित गराउन, कार्यान्वयनको सुनिश्चितताको लागि संस्थागत संयन्त्रको परिचालन गर्न र तल्लो तहसम्म फैलिएको प्रशासनिक संयन्त्रको परिचालनव्दारा जनतासंग सम्पर्क कायम गर्न प्रशासनिक संयन्त्रको परिचालनको आवश्यकता हुन्छ । यसैले तटस्थता प्रशासनयन्त्रको अपरिहार्य विषवस्तु भएपनि विषगत विज्ञता र स्थायी संयन्त्र भएको कारणले प्रशासनयन्त्रले दक्षता सहितको तटस्थता व्दारा सकारात्मक योगदान गर्न सक्छ भन्ने मान्यताको विकास हुदै गएको छ । यो अवधारणाले आस्था, वाद वा विचारको आवध्दता सहितको दक्षतालाई पूर्ण रुपमा नकारेको छ ।
प्रशासनिक सक्रियताका लागि केही आवश्यक पूर्वशर्तहरु रहेका हुन्छन् । जसमा राजनीतिक तहमा सहिष्णु राजनैतिक प्रणाली, सही व्यक्ति को सही ठाउंमा सरुवा वा पदस्थापन गर्ने निश्पक्ष प्रणाली, योग्यता प्रणालीको अबलम्बन, प्रतिभा व्यवस्थापन र प्रतिभाको अधिकतम उपयोगको नीति, विज्ञतालाई कहिल्यै पनि राजनैतिक आवरणमा हेरिनु नहुने र राम्रा मान्छेको अवधारणामा हाम्रा मान्छेले प्राधान्यता पाउनु नहुने जस्ता विषयहरु पर्दछन् । यसै गरी प्रशासनिक तहमा प्रशासनिक तत्परता, सरकारको नीति तथा कार्यक्रमलाई कार्यान्वयन योग्य वनाउन आवश्यक प्रशासनिक र प्रक्रियागत व्यवस्था, कार्यको जिम्मेवारी तोक्ने र क्षमता अनुसारको कर्मचारी व्यवस्थापन, कार्य सम्पन्न गर्ने अवधि र अपेक्षित परिणामको पुर्वानुमान गर्न सक्षम प्रशासन प्रणाली, जोखिमका संभावित क्षेत्रको पहिचान र जोखिम न्यूनिकरण गर्ने कार्ययोजना, सहकर्ता निकायहरुको पहिचान र सहकार्य , अनुगमन र मुल्याङ्कन प्रणाली र पृष्ठपोषण प्राप्ति , पृष्ठपोषण उपयोग तथा सामयिक सुधारको क्रियाशील र प्रभावकारी संयन्त्र जस्ता विषयहरुको उपस्थिति आवश्यक मानिन्छ ।
( दामोदर रेग्मी कुशल प्रशासक तथा संघीयताका विज्ञ हुन्)