चैत ३०, काठमाडौं – कोरोना संक्रमणको जोखिम बढेको भन्दै सरकारले विद्यालय बन्द गर्ने तयारी गरेपछि निजी विद्यालय सञ्चालकले असन्तुष्टि जनाएका छन् ।
निजी विद्यालयको प्रतिनिधिमूलक संस्था प्याब्सनले स्वास्थ्य सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नु नै उपयुक्त हुने बताएको छ ।
कोरोना संक्रमणको दर देशभर एउटै नहुने भएकाले अत्यन्त आवश्यक भए सम्बधित विद्यालय वा सम्बन्धित पालिकामा मात्र निश्चित समयका लागि प्रतिबन्धात्मक व्यवस्था गर्न भन्दै प्याब्सनले अन्य ठाउँमा विद्यालय सञ्चालन गर्न दिन आग्रह गरेको हो ।
शनिबार प्रमुख शहरमा तीन सातासम्म विद्यालय बन्द गर्ने र अनलाइनमार्फत पठनपाठन गर्ने विषयमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा छलफल भएको थियो ।