फागुन २८, काठमाडौं – नवलपरासी – (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले एकै दिन ११ आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरेको छ । नगरपालिकाभित्रका विभिन्न ११ वटा वडामा यसै आर्थिक वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने गरी बिहीबार एकै दिन ११ वटा स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरिएको हो ।
वडा नं २, ४, ५, ७, ८, ९, ११, १३, १५ र १६ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरिएको हो । नगरपालिकाभित्रका सबै वडामा आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यअनुसार आधारभूत स्वास्थ्य सेवा केन्द्र यसअघि नै सञ्चालनमा आइसकेका छन् । सेवालाई थप व्यवस्थित बनाउन स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण गर्न लागिएको नगर प्रमुख चन्द्रकुमारी पुनले बताइन् ।
नगरभित्र यसअघि छवटा वडामा स्वास्थ्य केन्द्रका लागि भवन रहेकाले भवन नभएका बाँकी ११ वटा वडामा भवन निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । आधारभूत स्वास्थ्य सेवा सहजरूपमा नागरिकले पाउन सकुन् भनेर सबै वडामा स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको र अहिले यसका लागि भवन निर्माण गर्न लागिएको नगरप्रमुख पुनले बताइन् हरेक वडामा स्वास्थ्यकर्मी पुर्याउने सरकारको नीतिअनुसार अहिले नगरभित्रका सबै वडामा आधारभूत स्वास्थ्य कार्यालय स्थापना गरिएको जानकारी दिइन् ।
उपप्रमुख पे्रमशङ्कर मर्दनिया थारूले सबै वडामा आधारभूत स्वास्थ्य सेवा पुग्नु महत्वपूर्ण उपलब्धि भएको बताइन् । यसले हरेक नागरिकलाई सहजरूपमा आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न सहज हुने जानकारी दिइन् । हिजोको दिनमा सामान्य उपचारका लागि समेत अन्यत्र जानुपर्ने बाध्यता रहेका नागरिकले आफ्नै वडाबाट सहजरूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने वातावरण बनाउन स्वास्थ्य सेवा केन्द्रले सहयोग पुग्ने उनले बताइन् ।