माघ १९, काठमाण्डौँ – नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहको आज केन्द्रीय समिति बैठक बस्दै छ।
उक्त बैठक बस्नुअघि अहिले उक्त समूहमा रहेका सचिवालय सदस्यहरूको बैठक बसिरहेको छ।
केन्द्रीय कमिटीमा पेस हुने विषयबारे छलफल गर्न राजधानीको कार्की ब्यांकेटमा सचिवालय बैठक बसिरहेको एक नेताले जानकारी दिए।
नेकपाको ९ सदस्यीय केन्द्रीय सचिवालयमध्ये प्रचण्ड-नेपाल समूहमा ४ जना छन्।
प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव बिष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा ओली समूहमा छन् भने उपाध्यक्ष वामदेव गौतम कुनै समूहमा लागेका छैनन्। उनले पार्टी एकता गर्ने अभियान थालेका छन्।
यसैबीच बिहान ११ बजे बस्ने भनिएको प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक दुई घन्टालाई सरेको छ।
नेकपा केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बैठक १ बजेका लागि सरेको जानकारी दिए।
माघ ११ गते बसेको प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो।
निर्वाचन आयोगले नेकपा विभाजन नभएको भनेर निर्णय गरेपछि प्रचण्ड-नेपाल समूहले पहिलो पटक केन्द्रीय कमिटी बैठक बोलाएको हो।
आयोगले ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीनै आधिकारीक भएको निर्णय समेत गरेको छ।
४ सय ४१ जनामध्ये आफूहरुसँग २ सय ९७ जना केन्द्रीय सदस्य रहेको प्रचण्ड-नेपाल पक्षको दाबी छ।