आइतबार प्रतिनिधिसभा विघटनविरुद्ध दुईवटा रिटमाथि सकियो बहस

माघ १८, काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्ध आइतबार दुईवटा रिट निवेदनमाथिको बहस सकिएको छ ।

आइतबार संवैधानिक इजलासमा आठौं रिट निवेदनमाथिको बहस सकिएलगत्तै नवौं रिट निवेदनमाथि निवेदक पक्षको बहस सुरु भएको थियो ।

आइतबार नै दशौं रिट निवेदनमाथिको बहससमेत सकिएको छ भने एघारौं रिटमाथि निवेदक पक्षको बहस सुरु भएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट दायर भएका छन् । ती सबै रिटमाथि संवैधानिक इजलासमा सुनुवाई भइरहेको हो । निवेदक पक्षको बहस सकिएपछि सरकारका तर्फबाट बहस हुनेछ ।