माघ १८, काठमाडौं – नेपालमा बर्डफ्लु रोग संक्रमणको पुष्टि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शनिबार वक्तव्य जारी गर्दै काठमाडौं तारकेश्वर नगरपालिकास्थित साङ्लेखोलामा पालिएका हाँस र टर्कीमा बर्डफ्लु भेटिएको जनाएको हो । रियल टाइम पीसीआर परीक्षण गर्दा बर्डफ्लु संक्रमण पुष्टि भएको जनाइएको छ। बर्डफ्लु संक्रमण पुष्टि भएसँगै सरकारले भारतबाट कुखुराजन्य वस्तुको आयातमा रोक लगाएको छ ।
संक्रमण फैलन सक्ने जोखिमलाई ध्यानमा राख्दै मुलुकभित्र निगरानी उच्च अवस्थामा राखिएको समेत विज्ञप्तिमा उल्लेख छ । रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको जारी विज्ञप्तिमा उल्लेख छ। १ हजार ८ सय ६५ वटा हाँस, ६ सय २२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५ सय ४२ अण्डा र ७५ किलो दाना नष्ट गरिएको छ । रोग देखा परेको क्षेत्रलाई समेत निसंक्रमण तुल्याइएको जनाइएको छ ।
रोग नियन्त्रणमा सघाउन विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा स्वास्थ्य परीक्षण गर्न, फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्वन गर्न, व्यक्तिगत सरसफाइमा ध्यान दिन समेत आग्रह गरेको छ ।