माघ ४, काठमाडौँ – सिमकोट गाउँपालिकाले यस वर्ष पनि किसानलाई निःशुल्क स्याउ र ओखरका विरुवा वितरण गरेको छ । जिल्लामा स्याउ, ओखर लगाउने सिजन शुरु भएसँगै किसानलाई स्याउ, ओखरमा आत्मनिर्भर बनाउनका लागि विरुवा वितरण गरेको गाउँपालिकाको कृषि विकास शाखा प्रमुख नेत्रबहादुर शाहीले जानकारी दिए ।
सिमकोट बागवानीअन्तर्गत वडा १ देखि ८ सम्मका किसानलाई आठ हजार ५०० स्याउका विरुवा र सात हजार ओखरका विरुवा वितरण गरेको उनले बताए ।
शाखाले बेमौसमी तरकारीका बीउसमेत वितरण गरिरहेको छ । निवेदनका आधारमा आफ्ना वडाभित्रका स्याउखेती गर्ने किसानलाई वितरण गरिएको हो । गत वर्ष दश हजार स्याउ र दुई हजार ओखरका विरुवा वितरण गरिएको थियो । रासस