पुष ४, काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार लालबाबु यादवले राष्ट्रपतिलाई अनावश्यक ढङ्गले विवादमा ल्याउने कार्य भइरहेको बताएका छन् । रिपोटर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले सरकारले ल्याएको पछिल्लो अध्यादेशको विषयमा राष्ट्रपतिलाई विवादमा ल्याउन खोज्नु संविधानको बर्खिलाप भएको टिप्पणी गरे ।
यादवले मन्त्रीपरिषद्को सिफारिसमा आएको अध्यादेशलाई राष्ट्रपतिले स्वीकृत गर्नुपर्ने संवैधानिक व्यवस्था भए बमोजिम राष्ट्रपतिले अध्यादेश स्वीकृत गरेको बताए । ‘राष्ट्रपति व्यक्ति नभएर निर्विवादित संस्था हो । उनले भने ‘यो संस्थाको गरिमा जोगाउन नसके संविधान कमजोर बन्न सक्छ । ’उनले नेकपाभित्रका ८३ सांसदले हस्ताक्षरसहित संसद्को विशेष अधिवेशन बोलाउन माग गर्दै पेश गरेको निवेदनलाई राष्ट्रपतिले स्वीकृत नगरेको भन्नेमा कुनै सत्यता नभएको बताए ।
कांग्रेस नेता तथा पूर्वमन्त्री रमेश लेखकले सरकारले ल्याएको अध्यादेश लोकतान्त्रिक पद्धतिको विरुद्ध भएको जिकिर गर्दै कांग्रेसले अध्यादेश नल्याउन सुझाव दिए पनि सरकारले अटेर गरेको आरोप लगाए । उनले अध्यादेश स्वीकृत गर्ने सवालमा राष्ट्रपतिको कुनै दोष नरहेको भन्दै राष्ट्रपतिसँग जोडिएर आउने विवादका विषयमा राष्ट्रपति कार्यालय चनाखो बन्नुपर्ने बताए ।
नेकपा नेता तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले पद्धितिलाई कार्यान्वयन गर्नुपर्ने विषयमा पार्टीभित्र केही विवाद भए पनि सामाजिक सञ्जालबाट उछालिएर आएको जस्तो विवाद नरहेको बताए । उनले विगतमा पार्टीभित्र यसभन्दा पनि ठूला विवाद समाधान भएको स्मरण गराउँदै अहिलेको विवाद पनि समाधान उन्मुख हुँदै गएको बताए ।